बालविकास शिक्षकको तलब १७ हजार, नयाँ पाठ्यक्रमअनुसार ८३२ घण्टा पढाइ

हिमाल प्रेस १६ असोज २०८३ १३:२६ | Friday, October 2, 2026
बालविकास शिक्षकको तलब १७ हजार, नयाँ पाठ्यक्रमअनुसार ८३२ घण्टा पढाइ

रुकुमपश्चिम- चौरजहारी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित प्रारम्भिक बालविकास केन्द्रका शिक्षकको तलबमान र नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी व्यवस्था गरेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कायम गरेको नयाँ तलबमानअनुसार नगर करारमा कार्यरत बालविकास शिक्षक र संघीय अनुदान प्राप्त बालविकास शिक्षक दुवैको मासिक तलब १७ हजार रुपैयाँ निर्धारण गरेको छ।

नगरपालिकाले बालविकास शिक्षकले पनि अन्य शिक्षकसरह अपराह्न ४ बजेसम्म विद्यालयमा उपस्थित भई अध्यापन तथा अन्य शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने व्यवस्था गरेको छ।

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०८२ अनुसार बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर वार्षिक ८३२ कार्यघण्टा तोकिएको छ। वर्षभरि १९२ दिन पठनपाठन सञ्चालन हुने र दैनिक सुरुआती क्रियाकलापसहित ४ घण्टा ३० मिनेट बालविकास केन्द्र सञ्चालन हुने व्यवस्था छ।

दैनिक कार्यतालिकामा बालबालिकाका लागि कम्तीमा एक घण्टा आराम र स्वतन्त्र रूपमा खेल्ने समय छुट्याइएको छ। पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विभिन्न ६ वटा सक्षमतामा जोड दिएको छ।

जसमा सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता, पोषणयुक्त खाना तथा स्वस्थकर बानी, वैयक्तिक सुरक्षाका उपाय, सरसफाइ तथा सामाजिक बानी, सिर्जनात्मक सोच र भाषिक एवम् सञ्चार सिपको विकासलाई मुख्य सक्षमताका रूपमा राखिएको छ।

त्यस्तै, आधारभूत सिप सिकाइका ६ क्षेत्रमा कुल ३८४ कार्यघण्टा छुट्याइएको छ। शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, नैतिक, बौद्धिक, मानसिक, स्वास्थ्य, पोषण, सुरक्षा, वातावरण तथा सिर्जनात्मक सिपलाई आधारभूत सिपका क्षेत्रका रूपमा समेटिएको छ।

बालविकास केन्द्रको दैनिक कार्यतालिकालाई पनि विभिन्न चरणमा विभाजन गरिएको छ। सुरुवाती १५ मिनेटमा बालबालिकालाई स्वागत गर्ने, झोला तथा खाजा तोकिएको स्थानमा राख्ने, शौचालय र सरसफाइमा सहयोग गर्ने, प्रार्थना तथा ध्यान गराउने व्यवस्था छ।

त्यसपछि ३० मिनेटको केन्द्र प्रवेश तथा सामाजिकीकरणको समयमा हाजिरी लिने, दिन, बार र मौसमसम्बन्धी तालिका मिलाउने, गीत तथा खेल खेलाउने र घेरा समयमा बालबालिकालाई आफ्ना अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरिनेछ।

नगरपालिकाका अनुसार स्थानीय परिवेश र आवश्यकता हेरी विद्यालयहरूले दैनिक कार्यतालिकामा आवश्यक समायोजन गरी कार्यान्वयन गर्न सक्नेछन्। यस व्यवस्थाले बालविकास तहमा बालबालिकाको उमेर, रुचि र आवश्यकताअनुकूल सिकाइ तथा खेल गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: १६ असोज २०८३ १३:२६ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast