शिक्षक सरुवाबारे मन्त्रालयको यस्तो पत्र

हिमाल प्रेस १२ असोज २०८३ १४:२१ | Monday, September 28, 2026
शिक्षक सरुवाबारे मन्त्रालयको यस्तो पत्र

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षक सरुवासम्बन्धी कानुनी व्यवस्थाबारे स्पष्ट पारेको छ। मन्त्रालयले शिक्षा नियमावली, २०५९ मा रहेको व्यवस्थाअनुसार शिक्षक सरुवा गर्न सकिने जनाएको हो।

सिरहा नगरपालिका-७ निवासी परशुराम साहले ०८३ असाेज ६ गते माग गरेको सूचनाको जवाफ दिँदै मन्त्रालयले शिक्षक सरुवासम्बन्धी कानुनी व्यवस्था स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार शिक्षा नियमावली, २०५९ को नियम ९९ को उपनियम (९) बमोजिम सामुदायिक विद्यालयका शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमतिसहित विद्युतीय माध्यम वा स्वयं उपस्थित भएर सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ।

उपनियम (१८) अनुसार स्थानीय तहअन्तर्गतको एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा शिक्षक सरुवा सम्बन्धित स्थानीय तहले गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। उपनियम (१९) मा भने एक स्थानीय तहको सामुदायिक विद्यालयबाट अर्को स्थानीय तहको सामुदायिक विद्यालयमा शिक्षक सरुवा शिक्षा विकास तथा समन्वय एकाइले गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले बताएको छ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा ४ को उपदफा (३) समेत स्मरण गराएको छ। उक्त व्यवस्थाअनुसार स्थानीय तहले आफ्नो एकल वा साझा अधिकारको विषयमा कानुन वा नीति बनाउँदा संविधान र सो ऐनका अतिरिक्त संघीय तथा प्रदेश कानुनसँग नबाझिने गरी बनाउनुपर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ असोज २०८३ १४:२१ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast