सरकारलाई सुझाव दिँदैमा विवाद भएको भन्न मिल्दैन : सभापति लामिछाने

हिमाल प्रेस २८ कार्तिक २०८३ १८:२७ | Saturday, November 14, 2026
सरकारलाई सुझाव दिँदैमा विवाद भएको भन्न मिल्दैन : सभापति लामिछाने

धनुषा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको बताएका छन्। जनकपुरधाममा शनिबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए।

पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो। सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उनले बताए।

सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेसका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताए। जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताए। रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उनले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गरे।

‘उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ। म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे’, उनले भने।

टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताए।

प्रकाशित: २८ कार्तिक २०८३ १८:२७ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast