किन हतारिए गगन?

किरण पौडेल १२ असोज २०८३ १८:१७ | Monday, September 28, 2026
किन हतारिए गगन? नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले वडा र पालिकादेखि केन्द्रीय नेतृत्व चयनसम्मको महाधिवेशन प्रक्रिया असामान्य रूपमा छोटो अवधिमा अघि बढाएको छ। असोज १४ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने र दुई दिनपछि असोज १६ देखि केन्द्रीय महाधिवेशन सुरु गर्ने कार्यतालिकाले कांग्रेसभित्रकै नेताहरूलाई समेत तयारीका लागि पर्याप्त समय नपुग्ने अवस्था बनाएको छ।

जिल्ला र प्रदेश अधिवेशनको टुंगो नलाग्दै केन्द्रीय महाधिवेशनको मिति तय भएपछि सभापति गगन थापाको यो हतारलाई लिएर कांग्रेसभित्रै भिन्नभिन्न व्याख्या हुन थालेका छन्। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि सुरु हुने भएकाले कांग्रेसले अहिले हतारमा वडा, पालिकाको अधिवेशन गरिरहेको छ।

कांग्रेसमा महाधिवेशनभित्र सात तहका अधिवेशन सक्नुपर्ने हुन्छ। क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन, वडा अधिवेशन, गाउँ अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनलगायतका चरण पार गर्दै अन्त्यमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने विधान कांग्रेसको छ। त्यसैले कांग्रेसले झरी र बाढीको पीडाका बीच पनि अधिवेशन गरिरहेको छ।

यसपटक कांग्रेसको महाधिवेशन एकदमै छोटो समयमा हुँदै छ। असोज १४ मा महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। कांग्रेसको नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले मत हाल्ने भएकाले यतिबेला कांग्रेसीहरू महाधिवेशन प्रतिनिधि चुनिन र केन्द्रीय महाधिवेशनमा चुनाव लड्ने तयारी गरिरहेका छन्।

रोचक के छ भने यसपटक केन्द्रीय सभापतिदेखि तल्लो स्तरका नेताहरूसमेत महाधिवेशन प्रतिनिधि बन्न ‘फिल्ड’मै जानुपर्ने बाध्यता छ। यसले पनि कांग्रेस नेताहरूलाई चाप बढेको हो।

यसअघिका महाधिवेशनमा केन्द्रीय नेताहरू स्वतः प्रतिनिधि बन्ने गरेका थिए। उनीहरूले केन्द्रीय निकायमा आफूले उठ्ने पदमा तयारी राम्ररी गर्न सक्थे। तर यसपटक दुईतिरको चुनाव (महाधिवेशन प्रतिनिधि र केन्द्रीय पदाधिकारी) एकै पटक परेका कारण नेताहरूलाई सकस परेको हो।

‘यसपटक मैले धेरै बोल्न मिल्दैन। केन्द्रीय स्तरमा उठ्छु भने महाधिवेशन प्रतिनिधि नै हार्न सकिन्छ। त्यसले प्रतिनिधि चुनिएर काठमाडौँ गएर मात्र नै आफ्नो अपेक्षा खोल्ने योजनामा छु,’ एक नेता भन्छन्। ती नेताका अनुसार यसपटक तल्ला स्तरका चुनावले माथिल्लो तहको महाधिवेशनको तयारीमा लाग्न सकस भइरहेको छ।

१४ औँ महाधिवेशनमा कांग्रेसले तीन तहको अधिवेशन (स्थानीय, जिल्ला र केन्द्र) तीन महिनाको अवधिमा गरेको थियो। त्यसबेला (२०७७ साल) मा पुस ६ गते वडा अधिवेशन गरेको कांग्रेसले त्यसको तीन महिना अर्थात् फागुन ७ देखि मात्र महाधिवेशन गरेको थियो। यसपटक कांग्रेस जिल्ला र प्रदेश समितिको अधिवेशन नगरी महाधिवेशनमा होमिँदै छ। समग्रमा कांग्रेसले १५ दिनमै केन्द्रीय नेतृत्व चुन्न खोजेको देखिन्छ।

१५ दिनमै चुनाव, छैन स्पष्ट धारणा

कांग्रेसले तलबाट माथिका तहमा बिस्तारै अधिवेशन गर्ने परम्परा यसपटक तोडिएको छ। कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका आएकै छैन भने केन्द्रीय महाधिवेशनको कार्यतालिका तोकिएको छ। कांग्रेस कार्यालयका मुख्यसचिव कृष्ण दुलालका अनुसार जिल्ला र प्रदेश महाधिवेशनको मिति अब मात्र तोकिने छ।

‘निर्वाचन समितिले तोकेपछि मात्र दुई तहको अधिवेशन हुन्छ। अहिले तोकिएको छैन,’ दुलालले हिमालप्रेससँग भने।

कांग्रेस सभापति थापाले यसअघि विशेष महाधिवेशनबाट धेरै समय चल्न नहुने भएकाले महाधिवेशन तोकिहालेको तर्क गरेका थिए।

‘हामीले सार्दैसार्दै यतिबेला (असोज १६) पुर्‍याएका हौँ। अब सार्न हुन्न भन्ने हाम्रो बुझाइ हो,’ थापाले भनेका छन्, ‘अब पनि महाधिवेशन नगर्ने हो भने विशेषकै आधारमा मात्र चल्न खोजेको आरोप लाग्छ।’ थापा नियमित महाधिवेशनमार्फत कांग्रेसको कानुनी प्रावधान पूरा गर्न हतारमा महाधिवेशन गर्न खोजेको बताउँछन्। उनले गएको पुस अन्तिममा महाधिवेशनको भेला बोलाएर विशेष महाधिवेशन गर्दै सभापति चुनिएका थिए।

महाधिवेशन गर्न हतारिनुको कारणबारे नेताहरूका आआफ्नै भनाइ छन्। कोही समयले गर्दा महाधिवेशन गर्न हतारिएको तर्क गर्छन् भने कोही विशेष महाधिवेशनको एक वर्ष पुगेकाले तत्काल गर्न खोजेको बताइरहेका छन्।

कांग्रेस नेता केदार कार्की क्रियाशील सदस्यता विवाद टुंग्याउन नै तीन महिना समय लाग्छ भन्ने गगनले यसपटक एक महिनामै महाधिवेशन गर्न ताम्सिएको देख्दा आफू छक्क परेको बताउँछन्। ‘गएको साल समय अभाव छ भन्दै गगनजी विशेष महाधिवेशनबाट सभापति चुनिनुभयो। हामीले हुँदैन भन्यौँ। त्यसबेला समय अभाव छ, विशेषमै जानुपर्छ भनेर विशेष महाधिवेशन गर्नुभयो,’ कार्की भन्छन्, ‘तर यसपटक छोटो समयमै महाधिवेशन गरिँदै छ। यो कुरा मैले बुझिनँ।’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव दुलाल भने विशेष महाधिवेशनको एक वर्षमा नियमित महाधिवेशन सक्नुपर्ने भएकाले तत्काल महाधिवेशन गरेको दाबी गर्छन्। कांग्रेसले गत पुस २८ देखि माघ २ सम्म विशेष महाधिवेशन गरेको थियो। तर विशेष महाधिवेशनको नेतृत्व चुनिएको आगामी पुसमा मात्र एक वर्ष पुग्छ।

दुलालका अनुसार कांग्रेसको निर्वाचन समितिले कार्यतालिका ल्याएपछि महाधिवेशन गर्न हतार भएको हो। ‘निर्वाचन समितिले अधिवेशन गर्न कार्यतालिका ल्याएपछि गरिहालेको हो, जुन आवश्यक थियो,’ उनले भने।

देउवा पक्षलाई हतार लाउने गगन ‘कूटनीति’

विशेष महाधिवेशनले दुई खेमामा विभक्त कांग्रेसको विभाजन लगभग पक्कापक्की जस्तो छ। थापा पक्षले महाधिवेशन तोकेपछि देउवा पक्ष पनि महाधिवेशनमा जान बाध्य भएको हो। अब संस्थापन खेमाबाट थापा सभापतिमा चुनिने लगभग पक्का जस्तो छ।

थापा निकट नेताहरूका अनुसार यो माहोल नबिगार्न पनि थापा हतारिएका हुन्। अर्को कुरा, देउवा पक्षमा अन्योलमा परेका केही नेतालाई फर्काउन पनि थापाले पनि यो रणनीति अपनाएका हुन्।

‘उहाँले हतारमा महाधिवेशन गर्ने भनेपछि हामीजस्ता नेताहरू पनि खुल्न बाध्य भइयो नि। त्यसैले पनि छिटो गर्न खोजिएको हो जस्तो लाग्छ,’ देउवा पक्षबाट संस्थापनमा खुलेका एक नेता भन्छन्,‘अझै अन्य नेता पनि तान्ने रणनीति हो कि भन्ने देखिन्छ।’

त्यसो त, कांग्रेसको आधिकारिकताको किचलो सकिएपछि थापाले महाधिवेशन तोकेका हुन्। तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवादमा देउवापक्षको माग अनुसार सुनुवाईका लागि निस्सा दिएकाले पनि गगनहरू हतारोमा महाधिवेशन टुंग्याउन तम्सिएका हुन्।

निर्वाचन आयोग र अदालतले पनि थापा पक्षलाई आधिकारिता दिए। थापा पक्षले महाधिवेशन तोकेपछि रोक्नका लागि पनि सर्वोच्च अदालतमा रिट परेको थियो।

‘अदालतले महाधिवेशन तोक्नुको कारण खोजेको थियो। हामीले यतिसमयसम्ममा सक्नुपर्छ भनेर (असोज २०) लिखित जवाफ दियौँ। त्यो नैतिकतालाई आधार मानेर अधिवेशन तोकेको हो,’ संस्थापन खेमाका एक नेता भन्छन्।

तर केन्द्रीय कार्यालयका कार्यवाहक महासचिव दुलाल भने लिखित जबाफमा मिति नतोकेको बताउँछन्। ‘हामी यतिसमयमा सक्छौँ भनियो तर त्यो समयमा सक्नैपर्छ भन्ने अनिवार्य छैन,’ दुलाल थप्छन्।

कार्यकर्ता विभाजित हुनुपूर्व नै सभापति बन्ने दाउ

गत साल विशेष महाधिवेशनमा पनि एकाएक प्रतिनिधि बोलाएर थापा सभापति बनेका थिए। देउवा र कोइराला पक्ष नै विशेष महाधिवेशनमा नआएपछि थापा सभापति हुने बाटो खुलेको थियो। कांग्रेस नेताहरू अहिले पनि थापाले सोही रणनीति अपनाएको देखिन्छ।

‘जिल्ला र प्रदेश अधिवेशन गरेमा कार्यकर्ता विभाजित हुन्छन्। त्यही कारण अधिवेशन नगरी महाधिवेशन गरे विभाजित हुनु पर्दैन,’ एक नेता भन्छन्,‘गगनजीले नयाँ जुक्ति लगाएजस्तो देखिन्छ। एकातिर समयको अभाव देखाउने, अर्कातिर विवाद कम भएकै बेला चुनिहाल्ने।’

कांग्रेस नेता माधव चम्लागाईं भन्छन्,‘हामीलाई समयसीमाको अभाव भएकाले हतारिएका हौँ। दसैँ लागिसकेकाले पनि महाधिवेशन गरिहाल्न खोजेका हौँ। जिल्ला र प्रदेशको बिस्तारै गरिनेछ।’

चम्लागाईंका अनुसार प्रतिनिधि चुनिएपछि महाधिवेशन गरिहाल्नुपर्ने बाध्यता भएकाले तत्काल गर्न खोजिएको हो। ‘धेरै हतार पनि छैन। १४ गते प्रतिनिधि चुनिन्छन्। लगभग १७ देखि मात्र महाधिवेशन सुरु हुन्छ। यसले गर्दा केही दिन त ग्याप हुन्छ भन्ने लाग्छ।’ चम्लागाईं भन्छन्।

प्रकाशित: १२ असोज २०८३ १८:१७ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast