उदयपुर- शिक्षा विकास तथा समन्वय एकाइ, उदयपुरले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
एकाइले शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा शाखा, सिंहदरबार, काठमाडौँको पत्राचारलाई आधार बनाउँदै उदयपुरका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।
एकाइ प्रमुख भवानीप्रसाद कट्टेलद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार आएको उल्लेख छ। शिक्षकहरूलाई आफ्नो पदीय आचरण र प्रचलित कानुनी व्यवस्था पालना गर्न पत्रमार्फत सचेत गराइएको छ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३३ ‘ग’ मा आफ्नो सेवासम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न प्रयत्न गर्न नहुने व्यवस्था रहेको पत्रमा उल्लेख छ।
त्यस्तै, शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ ‘ड’ को उपदफा (५) को खण्ड ‘छ’ तथा शिक्षा नियमावली, २०५९ को नियम १३३ ‘ख’ को व्यवस्था पालना गर्न पनि शिक्षकहरूलाई आग्रह गरिएको छ।
एकाइले कानुनी तथा पदीय आचारसंहिताविपरीत हुने गतिविधि नगर्न र शिक्षकको व्यावसायिक मर्यादा कायम राख्न सम्बन्धित सबै शिक्षकलाई जानकारी गराएको जनाएको छ।
पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र उदयपुरका सबै स्थानीय तहलाई समेत पठाइएको छ।




