काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक कारबाही गर्न देशभरका ७७ वटा शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार जारी गरेको पत्रमा पछिल्ला केही दिनयता बैतडी, बाजुरा, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सप्तरी लगायतका जिल्लामा कार्यरत सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्ने समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत सार्वजनिक भएको उल्लेख गरिएको छ।
मन्त्रालयले शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुन सक्ने भन्दै त्यसबारे थप खोजबिन र निगरानी गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
पत्रमा स्थानीय तहको समन्वयमा यस्ता आचारसंहिता उल्लंघन गर्ने शिक्षक पहिचान गरी नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ।
उपसचिव लिलानाथ पौडेल ले हस्ताक्षर गरेको उक्त निर्देशन मन्त्रालयको असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको हो।
पत्रको बोधार्थ शिक्षा विभाग, सानोठिमी, भक्तपुर र शिक्षा तथा खेलकुदमन्त्रीलाई समेत पठाइएको छ।



