प्रअबाट राजीनामा दिएका तिमल्सिना बने कांग्रेसको पालिका सभापति

हिमाल प्रेस ८ असोज २०८३ ११:२७ | Thursday, September 24, 2026
58
SHARES
प्रअबाट राजीनामा दिएका तिमल्सिना बने कांग्रेसको पालिका सभापति

काठमाडौँ- ललितपुरको महांकाल गाउँपालिका-४ कालेश्वरस्थित बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलप्रसाद तिमल्सिनाले सक्रिय राजनीतिमा लाग्ने निर्णय गर्दै विद्यालय व्यवस्थापन समितिमा राजीनामा दिएका छन्।

२०८३ असोज ६ गते मिति रहेको राजीनामापत्रमा तिमल्सिनाले महांकाल गाउँपालिकाको दोस्रो पालिका अधिवेशनमा सक्रिय राजनीतिक भूमिकामा रहने निर्णय गरेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिबाट आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। उनले उक्त पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएका हुन्।

तिमल्सिना हालै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महांकाल गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका छन्। उनको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय स्तरमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तिमल्सिनाको राजीनामा सार्वजनिक भएकै दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिप्रति निगरानी कडा बनाउन ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।

मन्त्रालयले शिक्षा नियमावली, २०५९ को नियम १३३ उपनियम (१) को खण्ड (ग) विपरीत हुने यस्ता गतिविधिबारे स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड (ग) र नियम १४३ बमोजिम आवश्यक कारबाही गर्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयका उपसचिव लिलानाथ पोखेलद्वारा हस्ताक्षरित उक्त निर्देशन २०८३ असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको हो।

प्रकाशित: ८ असोज २०८३ ११:२७ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast