काठमाडौँ- प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्याजुएट विद्यार्थीको आन्दोलन, कलेजको शैक्षिक गतिविधि र अनियमितताबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार सांसद अन्सारीले तत्काल समस्या समाधान गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराए। सांसद अन्सारीले भने, ‘विगत १० दिनदेखि वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्याजुएट स्टुडेन्टहरू आन्दोलनरत छन्। १० दिनअघि उनीहरूलाई होस्टेल खाली गर्नुपर्ने, अस्पतालमा काम गर्न नपाइने र कलेजको गेटबाट छिर्नसमेत प्रतिबन्ध लगाइयो।’
उनले विद्यार्थीहरूले पहिलोपटक मेडिकल कलेजका नाममा भइरहेको अनियमितता सार्वजनिक गरेको दाबी गरे। ‘ती विद्यार्थीहरूले पहिलोपटक नेपालको इतिहासमा पोस्ट ग्याजुएट स्टुडेन्टहरूले मेडिकल कलेजको नाममा भइरहेको गोरखधन्दाको पर्दाफास गरेका छन्। त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पीजी सिट लिएको छ,’ उनले भने।
चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा पनि कलेज व्यवस्थापनले नक्कली बिरामी खडा गरेको आरोप अन्सारीले लगाए। ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदा इमर्जेन्सी हलमा तिनैका सुरक्षा गार्डहरूलाई बिरामी बनाएर पानी चढाउन कलेजको म्यानेजमेन्टले फोर्स गरेका छन्,’ उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा गोरखधन्दा चलाइरहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन सभामुख महोदय। म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले विगतमा पनि राजनीतिक पहुँचका कारण कलेजमाथि कारबाही हुन नसकेको दाबी गरे। ‘विगतमा पहिलेका सम्माननीयज्यूहरूका, प्रधानमन्त्रीज्यूहरूको बेडरुमसम्म पुगेर बर्थडे केक काटेर नाइटोमुनि दुइटा हात बाँधेर फोटो खिचाएपछि राज्यका सम्पूर्ण संरचना, चाहे त्यो चिकित्सा शिक्षा आयोग होस्, चाहे टीयुको डीन कार्यालय होस्, चाहे देशका सिडिओ हुन्, एसपी हुन्, सबैले तर्सिएर उहाँहरूलाई अहिलेसम्म कुनै कारबाही गर्न सकेका छैनन्,’ उनले भने।
अन्सारीले यो विषय कुनै एउटा संस्थामाथिको आरोप मात्र नभई राज्यमा भइरहेको बेथितिसँग जोडिएको विषय भएको बताए। ‘यो कुनै एउटा संस्थाप्रतिको आरोप होइन। यो राज्यमा भइरहेको बेथिति र यो गोरखधन्दालाई कसरी बन्द गर्ने त? आज ती विद्यार्थीहरू काठमाडौँको सडकमा घुमिरहेका छन्, कुनै सुनुवाइ भएका छैनन्,’ उनले भने।
उनले शिक्षामन्त्री पोखरेललाई विद्यार्थीहरूको समस्या समाधानका लागि तत्काल छानबिन गर्न आग्रह गरे। ‘म माननीय शिक्षामन्त्रीलाई यहाँबाट आग्रह गर्न चाहन्छु- उहाँले अहिलेसम्म जसरी मेरिटोक्रेसीको बेसमा भीसीहरू नियुक्त गर्नुभएको छ, जसरी मेरिटोक्रेसीको बुलन्द आवाज उहाँले उठाउनुभएको छ, यसमा पनि गम्भीर भएर छानबिन गरेर ती विद्यार्थीहरूको व्यवस्थापन राज्यले गरोस्,’ उनले भने।
मेडिकल शिक्षामा अनियमितता भइरहँदा त्यसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। ‘अब त्यस्तो ठाउँमा, सम्माननीय सभामुख महोदय, यो मुन्ना भाइमा हेर्दाहेर्दै त रमाइलो लाग्थ्यो तीन घण्टा, तर राज्यमा नै खुलेआम मुन्ना भाइ चल्दाखेरि यो राज्यको लागि यो गम्भीर विषय हो भन्ने कुरा हामीले बुझ्नुपर्छ,’ उनले भने।
कलेजमा नक्कली डाक्टर र बिरामी देखाउने कामसँगै परीक्षामा आर्थिक लेनदेन हुने गरेको आरोपसमेत उनले लगाए। ‘नक्कली डाक्टर, नक्कली बिरामी, अनि त्यसपछि अर्को एउटा ठूलो समस्या के छ भन्दाखेरि- एउटा सब्जेक्ट पास गरिदिनका लागि तीन लाख रुपैयाँ कलेजले लिने गरेको छ नेपाली विद्यार्थी हो भने। यदि विदेशी विद्यार्थी हो भने पाँच लाख रुपैयाँ लिएर उत्तरपुस्तिकामै पूरै आन्सरहरू भरेर पास गराइदिने गोरखधन्दा पनि त्यो कलेजमा चलिरहेको छ,’ उनले भने।
विद्यार्थीहरूको भविष्य अन्योलमा पार्नुभन्दा राज्यले वैकल्पिक कलेजमा उनीहरूको व्यवस्थापन गर्नुपर्ने अन्सारीको माग छ। ‘यदि यस्तो हो भने ती विद्यार्थीहरूलाई यसरी अन्योलमा राख्नुभन्दा अन्य कलेजमा राज्यले जिम्मा लिएर उहाँहरूको व्यवस्थापन गर्नुपर्यो,’ उनले भने।
मेडिकल शिक्षामा हुने कमजोरीले भविष्यमा गम्भीर स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै उनले भने,‘नत्र हामीले केही समयमा हामीले सुनिरहेका कुराहरू- राइट किड्नीको ठाउँमा लेफ्ट किड्नी निकालिएको, एउटा बिरामीको हार्टको अपरेसन गर्नुपर्ने अर्को बिरामीलाई लगाइदिएको-यस्ता कामहरू पटकपटक हुनेछन् र राज्यले यो दुर्घटना व्यहोर्नुपर्नेछ।’
उनले नेशनल मेडिकल कलेजको विषयमा राज्य गम्भीर भएर छानबिन र आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। ‘त्यसैले राज्य गम्भीर भएर यसमा सोचिदिनुपर्यो भनेर म राज्यको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।



