सिन्धुलीमै पहिलोपटक दुधौलीबाट शिक्षकको तलब सिधै खातामा

हिमाल प्रेस १६ असोज २०८३ ७:२४ | Friday, October 2, 2026
सिन्धुलीमै पहिलोपटक दुधौलीबाट शिक्षकको तलब सिधै खातामा

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलबभत्ता पालिकाबाटै सिधै सम्बन्धित शिक्षकको बैंक खातामा मासिक रूपमा पठाउन सुरु गरेको छ।

नगरपालिकाले ‘इलेक्ट्रोनिक फन्ड ट्रान्सफर’ प्रणालीमार्फत यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। सशर्त कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८३/८४) मा स्थानीय तहले IEMIS मार्फत मासिक रूपमा माग फाराम संकलन गरी नियमानुसार शिक्षकको बैंक खातामा रकम पठाउन सक्ने व्यवस्था गरेको छ।

सोही कानुनी आधारमा टेकेर चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातदेखि नै नगरपालिकाले यो नयाँ अभ्यास थालेको जनाएको छ। यससँगै दुधौली नगरपालिका शिक्षक कर्मचारीको खातामा सिधै मासिक तलब पठाउने सिन्धुली जिल्लाकै पहिलो स्थानीय तह बनेको छ।

देशभरका ७५३ स्थानीय तहहरूमध्ये पनि निकै सीमित पालिकाहरूले मात्र यस्तो अभ्यास कार्यान्वयन गर्न सकेका छन्। नगरपालिकाका अनुसार विद्यालयहरूमा कार्यरत कुल ६६५ जना शिक्षक तथा कर्मचारीहरूको तलब तथा भत्ता सिधै बैंक खातामा भुक्तानी भइरहेको छ।

हालसम्म २०८३ साउन, भदौ, असोज महिनाको मासिक तलब तथा चाडपर्व बापतको रकम शिक्षकहरूको खातामा पठाइसकिएको छ। स्थायी प्रकृतिका शिक्षकहरूको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका रकमहरू समेत मासिक रूपमा समयमै जम्मा गरिएको छ।

संघ, प्रदेश र स्थानीय तहका अन्य कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले मासिक रूपमा तलब पाइरहँदा विद्यालयका शिक्षकहरूले भने त्रैमासिक रूपमा मात्र भुक्तानी पाउने गरेका थिए।

यसले गर्दा उत्पन्न हुने विभेद र गुनासोलाई सम्बोधन गर्न नेपाल सरकारको नीति अनुसार पालिकाले मासिक भुक्तानीको प्रक्रिया अघि बढाएको हो।

यस व्यवस्थाबाट शिक्षक तथा कर्मचारीहरू उत्साहित हुनुका साथै लेखा प्रणालीमा सरलता र एकरूपता कायम भएको दुधौली नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक तथा शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माले जानकारी दिए।

यसबाट विद्यालयको प्रशासनिक तथा वित्तीय कार्यबोझ घट्नुका साथै बजारमा नगद प्रवाह बढोत्तरी भई आर्थिक गतिविधि चलायमान बनाउन समेत मद्दत पुगेको बताइएको छ।

प्रकाशित: १६ असोज २०८३ ७:२४ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast