विद्यालय कर्मचारी: ३८ वर्ष विद्यालयको सेवा गरेका कार्की राज्यबाट रित्तो हात,विद्यालयबाट ससम्मान बिदाइ

हिमाल प्रेस १० साउन २०८३ १०:४१ | Sunday, July 26, 2026
214
SHARES
विद्यालय कर्मचारी: ३८ वर्ष विद्यालयको सेवा गरेका कार्की  राज्यबाट रित्तो हात,विद्यालयबाट ससम्मान बिदाइ

झन्डै चार दशकसम्म विद्यालयको ढोका खोल्ने, कक्षाकोठा सफा गर्ने, विद्यालय परिसर व्यवस्थित राख्ने र आफ्नै घरझैँ विद्यालयको संरक्षणमा खटिएका रामबहादुर कार्की अन्ततः सेवा निवृत्त भएका छन्। तर, ३८ वर्षभन्दा बढी समय विद्यालयमा निरन्तर सेवा गरेका उनलाई दिन राज्यसँग भएन अर्थात् राज्यविहीनताको महसुस भयो।

२०४५ साल वैशाख ७ गतेदेखि गौरीशंकर माध्यमिक विद्यालय, रामेछाप नगरपालिका-८ मा कार्यालय सहयोगीका रूपमा कार्यरत ७१ वर्षीय कार्कीलाई उमेर हदका आधारमा सेवा निवृत्त भए। तर, लामो सेवापछि सरकारले कुनै विशेष सुविधा वा सम्मानको व्यवस्था नगर्दा उनी रित्तो हात घर फर्किनुपर्‍यो।

यही परिस्थितिमा विद्यालयले भने फरक उदाहरण प्रस्तुत गर्‍यो। कर्मचारीको योगदानलाई सम्मान गर्दै विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट ३ लाख ६६ हजार ३ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गरी कार्कीलाई ससम्मान बिदाइ गर्‍यो। कार्यक्रममा ‘गौरीशंकर पूर्व विद्यार्थी समाज’ ले पनि उनको समर्पणको कदर गर्दै थप ३५ हजार रुपैयाँ नगद सहयोग प्रदान गर्‍यो।

बिदाइ समारोहमा भावुक देखिएका कार्कीले विद्यालयमा बिताएका वर्षहरू आफ्नो जीवनकै अमूल्य समय भएको स्मरण गरे। उनले राज्यप्रति गुनासो व्यक्त गर्दै भने,‘सरकारले विद्यालय कर्मचारीका लागि केही व्यवस्था गर्ला भन्ने आशामा ३८ वर्षसम्म पसिना बगाएँ। तर अन्ततः रित्तो हात घर फर्किनुपर्ने अवस्था आयो।’

विद्यालय परिवार र पूर्व विद्यार्थीहरूले देखाएको सम्मानले भने आफ्नो पीडा धेरै हदसम्म कम गरेको उनको भनाइ थियो। उनले यस्तो सम्मानलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइको रूपमा लिएको बताए।

विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा पूर्व विद्यार्थीहरूले कार्कीलाई इमान्दार, अनुशासित र समर्पित कर्मचारीका रूपमा स्मरण गर्दै उनले विद्यालयको विकास र व्यवस्थापनमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे। उनीहरूका अनुसार विद्यालयको सरसफाइ, अनुशासन र दैनिक व्यवस्थापनमा कार्कीको भूमिका अविस्मरणीय रहेको छ।

नेपालका धेरै सामुदायिक विद्यालयका कार्यालय सहयोगी र तल्लो तहका कर्मचारीहरूले लामो समय सेवा गरे पनि सेवा निवृत्तिपछि पर्याप्त सुविधा नपाउने अवस्था विद्यमान छ। यस्तो अवस्थामा विद्यालयले आफ्नै स्रोतबाट कर्मचारीको योगदानको सम्मान गर्दै गरेको ससम्मान बिदाइलाई धेरैले उदाहरणीय अभ्यासका रूपमा हेरेका छन्।

विद्यालयले देखाएको यो संवेदनशीलता एउटा कर्मचारीप्रतिको सम्मान मात्र होइन श्रम, इमान्दारिता र समर्पणको मूल्यांकन पनि हो।

कार्कीको बिदाइले एउटा प्रश्न भने छाडेको छ- दशकौँसम्म सार्वजनिक शिक्षाको सेवामा जीवन समर्पण गर्ने कर्मचारीहरूलाई सम्मान गर्ने दायित्व राज्यको कि विद्यालय समुदायको?

प्रकाशित: १० साउन २०८३ १०:४१ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast