काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिअन्तर्गत आबद्ध संस्थाका अध्यक्ष तथा उपलब्ध पदाधिकारीहरूको बैठक बिहीबार भक्तपुरमा सम्पन्न भएको छ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीका अनुसार बैठकले विद्यालय कर्मचारी, बाल शिक्षक तथा शिक्षण सिकाइसँग सम्बन्धित विषयमा नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटबारे शिक्षा तथा खेलकुद मन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको छ।
बैठकले विद्यालय कर्मचारी र शिक्षण सिकाइ अनुदानमा कार्यरत कर्मचारीहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति पूर्ण समर्थन जनाउने निर्णय पनि गरेको अध्यक्ष तिवारीले जानकारी दिए।
त्यसैगरी, आगामी साउन २ र ३ गते राष्ट्रिय परिषद् आयोजना गर्ने तथा परिषद् हुनुअघि राष्ट्रिय समितिको बैठक बसी विधान संशोधन गर्ने निर्णय समेत गरिएको जनाइएको छ।




