काठमाडौँ- शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सङ्घीय अनुदानअन्तर्गत प्रारम्भिक बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको पारिश्रमिक तथा अनुदान विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहयोगी र लेखा सहायक कर्मचारीका लागि १३ महिनाको पारिश्रमिक व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार बालविकास सहजकर्तालाई मासिक रु १२,००० का दरले १३ महिनाको पारिश्रमिक उपलब्ध गराइनेछ। त्यसैगरी, कक्षा १ देखि १२ सम्मका विद्यालयहरूमा एक जना लेखा सहायक कर्मचारीका लागि मासिक रु १५,००० का दरले १३ महिनाको पारिश्रमिक व्यवस्था गरिएको छ।
त्यस्तै, विद्यालय सहयोगी (कार्यालय सहयोगी) का लागि मासिक रु १०,००० का दरले १३ महिनाको पारिश्रमिक निर्धारण गरिएको छ।
शिक्षण सिकाइ अनुदान भने साविककै अनुसार निरन्तर रहने मन्त्रालयले जनाएको छ। सरकारले तोकेको उक्त अनुदान रकम सङ्घीय बजेटमार्फत स्थानीय तहमार्फत सम्बन्धित विद्यालयहरूमा पठाइनेछ।
स्थानीय तहले न्यूनतम ७ हजार रुपैयाँ थप गरी तलब दिनुपर्ने भए पनि कतिपयले दिएका छैनन्।
लामो समयदेखि न्यून पारिश्रमिकमा कार्यरत बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरू यतिखेर आन्दोलित छन्।
शिक्षा मन्त्रालयले तत्काल तलब नबढ्ने संकेत गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई विद्यालय शिक्षा ऐनमार्फत व्यवस्थापन गर्ने जनाएको छ।




