सम्झौता कार्यान्वयन नगर्ने सरकारकै कारण शिक्षक आन्दोलन चर्कियो : सचिव पनेरु

हिमाल प्रेस १८ भदौ २०८२ ११:२३
242
SHARES
सम्झौता कार्यान्वयन नगर्ने सरकारकै कारण शिक्षक आन्दोलन चर्कियो : सचिव पनेरु

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकी सचिव कल्पना पनेरुले विद्यालय शिक्षा विधेयक, २०८० को सन्दर्भमा सरकार गैरजिम्मेवार बनेको र त्यसकै परिणामस्वरूप शिक्षक आन्दोलन तीव्र बन्दै गएको टिप्पणी गरेकी छन्।

उनले भनिन्,‘देशमा राजनीतिक स्थिरता नभए त्यसको असर प्रत्यक्ष–परोक्ष रूपमा शिक्षा क्षेत्रमा देखिन्छ। आज आम नेपाली शिक्षक आन्दोलनमै छन् तर सरकार अझै समस्या र समाधानको नजिक पुगेको छैन।’

सचिव पनेरुले विद्यालयभित्रको अराजकता, अन्योल र कुशासन सडकदेखि सदनसम्म प्रष्ट देखिएको उल्लेख गर्दै यसले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने चेतावनी दिइन्।

लामो समयदेखि सामुदायिक र निजी विद्यालयमा अध्यापन गरेको अनुभव स्मरण गर्दै उनले भनेकी छन्, ‘यो अवस्थाले शिक्षकलाई मात्र होइन, पवित्र मानिने शैक्षिक क्षेत्रलाई समेत पीडाबोधको अवस्थामा पुर्‍याएको छ।’

उनका अनुसार सरकारले नेपाल शिक्षक महासंघसँग पटक–पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेकाले शिक्षकहरू फेरि आन्दोलनमा जान बाध्य भएका हुन्। ‘पहिले जस्तै पार्टीका कार्यालयमा पुगेर सम्झाउने अनि धर्ना बस्ने काम आज सातौँ दिन पुगिसकेको छ,’ उनले भनिन्।

सचिव पनेरुले सरकारले विद्यालयलाई थरीथरी नाम दिएर शिक्षक उत्पादन गरेको, विद्यालयलाई राजनीतिक भागबन्डा र मनोमानीले चलाएको उल्लेख गर्दै यसैको परिणाम अहिले देखिएको बताइन्। उनले थपिन्, ‘सांसदजस्ता जिम्मेवार व्यक्तिहरूले समेत शिक्षकलाई ‘इन्ट्रेस ग्रुप’ भन्ने नामकरण गर्दा झन् पीडा हुन्छ। यसले देखाउँछ कि नीति–निर्माताहरू अझै शैक्षिक अराजकताबाट टाढै छन्।’

उनले चेतावनी दिँदै थप भनिन्, ‘यदि सरकारले समयमै चेतना नपुग्ने हो भने भावी पुस्ता, विद्यालय र विद्यार्थीहरूको भविष्य थप दयनीय बन्छ र सम्पूर्ण समाज अराजकतातर्फ धकेलिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast