विद्यालय बन्दको आन्दोलनप्रति अभिभावक संघले भन्यो- विद्यार्थीको अध्ययन अधिकार कुण्ठित नहोस्

हिमाल प्रेस २९ साउन २०८२ ११:०५
1.3k
SHARES
विद्यालय बन्दको आन्दोलनप्रति अभिभावक संघले भन्यो- विद्यार्थीको अध्ययन अधिकार कुण्ठित नहोस्

काठमाडौँ- नेपाल राष्ट्रिय अभिभावक संघले विद्यालय बन्द गरेर गरिने कुनै पनि प्रकारको आन्दोलनप्रति असहमति जनाएको छ। देशभरका करिब ८० लाख अभिभावकको प्रतिनिधित्व गर्ने संघले विद्यालय बन्द हुँदा विद्यार्थीको नियमित अध्ययन अधिकार कुण्ठित हुने र नकारात्मक मनोवैज्ञानिक असर पर्ने बताएको छ।

संघका अनुसार विद्यालय तहमा अध्ययनरत बालबालिकाको शैक्षिक प्रगति मात्र होइन उनीहरूको दैनिक आनीबानी र बोलीव्यवहार अभिभावकको प्रत्यक्ष निगरानीमा हुने भएकाले विद्यालयमा निर्वाध पढ्न पाउने वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता छ।

राष्ट्रिय अध्यक्ष कोषबहादुर जीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एउटा बालबालिका विद्यालयमा गई नियमित रूपमा पढ्न पाउने अधिकारलाई कुनै पनि पक्षले नजरअन्दाज गर्नु हुँदैन।’

संघले विगतमा जस्तै आगामी दिनमा पनि शिक्षण संस्था बन्द गरेर गरिने हडताल वा आन्दोलनविरुद्ध आवाज उठाउने र अभिभावकलाई सचेत रहन अपिल गरेको छ।

संघले राज्यको केन्द्रदेखि स्थानीय तहसम्मका सरकार र शिक्षा सरोकारवालासँग सहकार्य गर्दै मुलुकको शिक्षामा सुधार र गुणस्तर वृद्धि गर्ने कार्यमा निरन्तर सक्रिय रहेको जनाएको छ। सबै अभिभावकलाई आफ्नो शैक्षिक अधिकार र कर्तव्यप्रति सजग रहन संघले आग्रह गरेको छ।

विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन्।

शिक्षा विधेयक : निजी विद्यालय सञ्चालकहरूको आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रकाशित: २९ साउन २०८२ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast