पढाइसँगै सीप सिकाउँदै लिमचुङबुङ गाउँपालिका

हिमाल प्रेस १३ असोज २०८३ १५:५७ | Tuesday, September 29, 2026
पढाइसँगै सीप सिकाउँदै लिमचुङबुङ गाउँपालिका

उदयपुर- लिमचुङबुङ गाउँपालिकाले विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।

दुई वर्षदेखि विभिन्न विद्यालयमा परीक्षण गरिएको कार्यक्रम प्रभावकारी देखिएपछि गाउँपालिकाले स्थानीय आवश्यकता र परिवेशअनुकूल पाठ्यक्रम निर्माण गरी औपचारिक रूपमा लागू गर्न लागेको हो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राईका अनुसार कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने बताए।

बालबालिकालाई किताबी ज्ञानमा सीमित नराखी स्थानीय आवश्यकता, भूगोल र सम्भावनाअनुसार वैज्ञानिक, व्यावहारिक तथा वस्तुगत ज्ञान र सीप प्रदान गरी आत्मनिर्भर नागरिक बनाउने उद्देश्य छ। पालिकाले कक्षा १ देखि ८ सम्मका लागि ‘लिमचुङबुङ सेरोफेरो’ नामक स्थानीय पाठ्यक्रम तयार गरेको छ।

हाल गाउँ कार्यपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षा शाखा प्रमुख गोविन्द कार्कीका अनुसार केही प्राविधिक तयारीमा ढिलाइ भएकाले चालु शैक्षिक वर्षको सट्टा आगामी शैक्षिक वर्षदेखि पठनपाठन सुरु गरिनेछ।

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई रुचिअनुसार कृषि, उद्यम, ललितकला (विज्ञान, प्रविधि, वातावरण, इन्जिनियरिङ तथा गणित) मध्ये सीप सिक्ने अवसर प्रदान गरिनेछ । प्रत्येक विषयका लागि १०० घण्टाको कार्यभार निर्धारण गरिएको छ।

शिक्षक विश्वराम राईको संयोजकत्वमा गठित पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले स्थानीय समुदाय, शिक्षाविद्, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरी पाठ्यक्रम तयार गरेको हो। पाठ्यक्रममा स्थानीय भूगोल, संस्कार, संस्कृति, रहनसहन, वातावरण र वेशभूषालाई समेटिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश राईका अनुसार पाँचवटै वडाका ३४ विद्यालयमा कार्यक्रम एकैपटक लागू भएको छ।

यसअघि परीक्षणका क्रममा विद्यार्थीले पढाइसँगै गुडिया बनाउने, कला तथा अन्य सीप सिकेर आम्दानीसमेत गर्न थालेको पाइएको थियो।

परीक्षण सफल भएपछि सीपमूलक शिक्षालाई स्थानीय पाठ्यक्रममै समेटेर दीर्घकालीन रूपमा लागू गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १३ असोज २०८३ १५:५७ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast