शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुस्ताङ

हिमाल प्रेस २२ कार्तिक २०८३ १७:१४ | Sunday, November 8, 2026
शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुस्ताङ

मुस्ताङ- तिहार तथा छठ पर्वको लामो बिदाको अवसर पारेर शैक्षिक भ्रमणमा निस्कने विद्यार्थीको रोजाइमा हिमाली जिल्ला मुस्ताङ पर्न थालेको छ।

विद्यालय तथा कलेजका विद्यार्थी समूह बनाएर मुस्ताङका धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अवलोकन गर्न पुग्न थालेपछि पर्यटकको चहलपहल बढेको हो।

तिहारको अघि र पछि लामो सरकारी बिदा परेसँगै विद्यालय, कलेज तथा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी मुस्ताङ भ्रमणमा आउने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मौसम अनुकूल बन्दै गएपछि स्वदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले बढेको छ।

स्कुल, कलेजका विद्यार्थी तथा सरकारी र गैरसरकारी संस्थाका कर्मचारी समूह बनाएर मुस्ताङ घुम्न आउने गरेको उनले बताए।

प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।

तीमध्ये २७ हजार १०७ जना स्वदेशी र आठ हजार ७५१ जना विदेशी पर्यटक रहेका छन्। विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका सात हजार ७१४ र अन्य राष्ट्रका एक हजार ३७ जना रहेको सूचना अधिकारी बस्यालले जानकारी दिए।

मुस्ताङ भ्रमणमा आउने विद्यार्थी तथा अन्य पर्यटकको प्रमुख आकर्षण मुक्तिनाथ मन्दिर रहेको छ। धार्मिक आस्थासँगै हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति, रहनसहन र जैविक विविधताबारे प्रत्यक्ष जानकारी लिन पनि विद्यार्थी मुस्ताङ पुग्ने गरेका छन्।

मुक्तिनाथ मन्दिरको दर्शनपछि पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, मार्फा तथा थासाङ क्षेत्रका सेकुङ ताल, भुतर्छो ताल र टिटी ताललगायतका स्थानको भ्रमण गर्ने गरेका छन्।

यी गन्तव्यले विद्यार्थीलाई पुस्तकमा पढेका हिमाली भूगोल, सम्पदा र संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने गरेका छन्।

मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार तिहार तथा छठको बिदामा विशेषगरी युवापुस्ताको घुमफिरको रोजाइमा मुस्ताङ पर्न थालेको छ।

मुक्तिनाथ दर्शनका लागि आउने विद्यार्थी तथा अन्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यसमेत अवलोकन गरेर फर्किने गरेका उनले बताए।

यस वर्ष दसैँअघि र पछि भारी वर्षा, हिमपात, हिमपहिरो तथा आँधीको जोखिमका कारण पर्यटक आगमन प्रभावित भएको थियो। बेनी-जोमसोम सडक अवरुद्ध हुँदा पनि आवागमनमा समस्या देखिएको थियो। तर पछिल्लो समय मौसम अनुकूल बन्दै गएपछि पर्यटकको सङ्ख्या बढेको हो।

सडक यातायात सहज बन्दै जानुका साथै शैक्षिक तथा धार्मिक भ्रमणको आकर्षण बढ्दै जाँदा मुस्ताङ विद्यार्थीका लागि खुला पाठशालाजस्तै बन्दै गएको छ।

हिमाली सभ्यता, ऐतिहासिक तथा धार्मिक सम्पदा, भौगोलिक विविधता र स्थानीय जीवनशैलीको अध्ययन तथा अवलोकनका लागि मुस्ताङ महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १७:१४ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast