काठमाडौँ- नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
नेपाली साहित्यमा देवकोटाले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ।
जन्मजयन्तीका अवसरमा काठमाडौँको सञ्चारग्राममा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ। वि.स.ं १९६६ साल कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए।
महाकवि देवकोटाका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासंग्रह नेपाली साहित्यका युगान्तकारी कृति मानिन्छन्।



