काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट काठमाडौँको खुलामञ्चमा सुरु हुँदै छ।
महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे हुने कार्यक्रम छ। महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने कार्यतालिका छ। महाधिवेशन सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन्। यो सहभागीतालाई कांग्रेसले अहिलेसम्मकै सबैभन्दा बढी भनेको छ। महाधिवेशनमा देशका ७७ वटै जिल्ला र विदेशमा रहेका जनसम्पर्क समितिबाट प्रतिनिधिहरु काठमाडौँ आएका छन्।
महाधिवेशनका लागि काठमाडौँको खुलामञ्च सजाइएको छ। कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा खुलामञ्चमा गर्ने तयारी छ। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दल शीर्ष नेताहरुको पनि सहभागिता हुने कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटनसत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने छन्।
यस्तै श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम न्यौपाने उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको उनले बताए।



