काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता अध्यक्ष राजेशकुमार श्रेष्ठ पार्टीको आसन्न १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य लड्ने भएका छन् । विद्यार्थी आन्दोलनबाट उदाएका श्रेष्ठ तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।
उनी केन्द्रीय सदस्य पदमा निर्वाचन लड्ने तयारी गरेको उनले बताए। नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ कुनै समय संघको केन्द्रीय अध्यक्षका दाबेदारसमेत थिए।
को हुन् राजेश?
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सचिवमा प्रतिस्पर्धा गरेका उनी नेविसंघको विधान निर्माणदेखि संगठनलाई विधि, नीति र विचारका आधारमा अघि बढाउने अभियानमा सक्रिय रहँदै आएका छन्।
विद्यार्थी संगठनको अस्तित्वमाथि प्रश्न उठ्दा श्रेष्ठले आफ्नै आगुवाइमा आन्दोलन गरे। राजनीतिसँगै सामाजिक सेवामा पनि उनको सक्रियता जोडिएको छ। जीवन सेवा अभियानमार्फत अभिभावकविहीन तथा विपन्न करिब ९० विद्यार्थीको शिक्षामा सहयोग गरिरहेको श्रेष्ठको अभियानले उनको राजनीतिलाई विद्यार्थीको वास्तविक जीवनसँग जोडेको देखिन्छ।
एमबीएस,अर्थशास्त्रमा एमए गरिसकेका र कानुन अध्ययन गरिरहेका श्रेष्ठसँग विद्यार्थी आन्दोलन, नेविसंघको केन्द्रीय नेतृत्व र नेपाली कांग्रेसको क्षेत्रीय संगठनमा काम गरेको अनुभव छ।



