महालक्ष्मी व्रत धार्मिक विधिपूर्वक समापन गरिँदै

हिमाल प्रेस १७ असोज २०८३ १२:४१ | Saturday, October 3, 2026
महालक्ष्मी व्रत धार्मिक विधिपूर्वक समापन गरिँदै

काभ्रे- यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ।

व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा-आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन्। यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अघ्र्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिए । उनका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन्।

यस दिन व्रतालु बिहानै स्नान गरी रातो वा पहेँलो वस्त्र र १६ शृङ्गारमा सजिएर पूजा मण्डपमा चामलका १६ वटा साना थुप्रा (बिरकुटी) बनाउँछन्। हरेक थुप्रामा एकएक वटा सुपारी, सिक्का, दुबो र मीठा पकवान (मालपुवा वा खीर) राखेर महालक्ष्मीको स्वरूप मानी पूजा गरिन्छ । त्यसपछि प्रथम दिन बाँधिएको १६ गाँठो भएको पवित्र धागो फुकाएर माताको चरणमा चढाउने र पछि घरको ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान रहेको पुराणवाचक सुवेदीले बताए ।

उनका अनुसार अन्तिम दिन श्रद्धापूर्वक व्रत कथा सुनेर हवन गर्ने, साँझपख चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अर्घ अर्पण गर्ने परम्परा छ। त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिँदै महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि यो व्रत सम्पन्न हुने उनले जानकारी दिए ।

प्रकाशित: १७ असोज २०८३ १२:४१ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast