समृद्ध नेपालको बहसमा बद्री अर्यालका दुई पुस्तक

हिमाल प्रेस १६ असोज २०८३ ९:१४ | Friday, October 2, 2026
समृद्ध नेपालको बहसमा बद्री अर्यालका दुई पुस्तक

काठमाडौँ- बद्री अर्यालले ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ दुई पुस्तक एकैपटक प्रकाशनमा ल्याएका छन्। जय नेपाल फाउन्डेसनको आयोजनामा ती कृतिको काठमाडौँमा विमोचन गरिएको हो।

अर्यालका अनुसार ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ मा उत्पादन, उद्यमशीलता, आर्थिक राष्ट्रवाद, आत्मनिर्भरता, रोजगारी र आर्थिक रूपान्तरणका विषयलाई केन्द्रमा राखिएको छ भने ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ मा राजनीतिक नेतृत्व, दलको भूमिका, लोकतान्त्रिक संस्कार, राजनीतिक आचरण, सुशासन र राष्ट्र निर्माणमा राजनीतिक शक्तिको जिम्मेवारीका विषय उठाइएको छ। दुवै पुस्तकलाई नेपालको समृद्धि र राजनीतिक-आर्थिक रूपान्तरणका विषयमा सार्वजनिक बहस विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको उनले बताए।

विमोचन समारोहमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बद्री अर्यालसँगको मित्रताको चर्चा गर्दै राजनीतिक यात्रामा लामो समयको सहयात्री रहेको बताए। उनले पुस्तक लेखन प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता लेखन प्रकाशनको निरन्तरताको कामनासमेत गरे।

पुस्तकको समीक्षा गर्दै नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ समृद्ध नेपाल निर्माणका लागि आवश्यक आर्थिक आधार, सोच र दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने पुस्तकका रूपमा चर्चा गरे।

उनले मुलुकलाई समृद्ध बनाउने विषयमा पर्याप्त आधार प्रस्तुत गर्ने यस पुस्तकको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी राजनीतिकर्मीहरूले आफ्नो आर्थिक दृष्टिकोण निर्माण गर्न पुस्तकले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए।

पत्रकार पुरुषोत्तम दाहालले ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ माथि समीक्षा गर्दै राजनीतिक यात्रामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका लागि पुस्तक उपयोगी रहेको बताए।

उनले राजनीतिक दलभित्र नेतृत्वको भूमिका, कार्यकर्ताको जिम्मेवारी, दलको वैधानिकता, राजनीतिक आचरण, इमानदारी तथा राजनीतिक दृष्टिकोण निर्माणजस्ता विषयलाई पुस्तकले गम्भीर रूपमा उठाएको उल्लेख गरे।

साहित्यकार नवराज लम्सालले दुवै पुस्तकको समीक्षा गर्दै लेखकको लेखन र पुस्तकको प्रस्तुति पक्षको प्रशंसा गरे।

अधिवक्ता एवं राष्ट्रिय खेलाडी करिना पुरीले नयाँ पुस्तालाई लक्षित गर्दै पुस्तकको अध्ययनको आवश्यकता औँल्याइन्। विशेषगरी युवा तथा नयाँ पुस्ताले मुलुक निर्माणका विषयमा आफ्नो धारणा र दृष्टिकोण निर्माण गर्न यस्ता पुस्तक अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा वक्ताहरूले नेपाल निर्माण र समृद्धिको बहसलाई केवल राजनीतिक नारामा सीमित नराखी आर्थिक दृष्टिकोण, राजनीतिक संस्कार, नेतृत्वको जिम्मेवारी, सुशासन, उत्पादन, उद्यमशीलता र नागरिक दायित्वसँग जोडेर हेर्नुपर्ने विषयमा समेत जोड दिएका थिए।

यी दुई पुस्तकले नेपालको समृद्धिका लागि आवश्यक आर्थिक र राजनीतिक दृष्टिकोणलाई भिन्नभिन्न कोणबाट प्रस्तुत गरेका छन्।

प्रकाशित: १६ असोज २०८३ ९:१४ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast