न्यून तलब पाउने ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक बढाइयो

हिमाल प्रेस २ असोज २०८३ ७:३८ | Friday, September 18, 2026
न्यून तलब पाउने ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक बढाइयो बालविकास कक्षा । तस्बिर : एआई

दैलेख- दैलेखको भगवतीमाइ गाउँपालिकाले गाउँपालिका अनुदानमा कार्यरत शिक्षक, बालविकास सहजकर्ता, विद्यालय सहयोगी तथा कार्यालय सहयोगीहरूको पारिश्रमिक वृद्धि गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा गाउँपालिका अनुदान कोटामा कार्यरत शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई गाउँपालिकाबाट थप पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको हो।

सूचनाअनुसार माध्यमिक तह (कक्षा ११-१२) का शिक्षकको मासिक पारिश्रमिक ३८ हजार रुपैयाँ, माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकको ३४ हजार रुपैयाँ, आधारभूत तह (कक्षा ६-८) का शिक्षकको ३६ हजार रुपैयाँ र आधारभूत तह (कक्षा १-५) का शिक्षकको २४ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, बालविकास सहजकर्ता, विद्यालय सहयोगी र कार्यालय सहयोगीका लागि पनि गाउँपालिकाले थप रकम उपलब्ध गराएको छ। यसअघि नेपाल सरकारबाट प्राप्त हुने पारिश्रमिकमा गाउँपालिकाको थप योगदान जोडेर उनीहरूको मासिक सेवा-सुविधा वृद्धि गरिएको सूचनामा उल्लेख छ।

गाउँपालिकाले विद्यालयहरूलाई एकमुष्ट वार्षिक अनुदानको व्यवस्था पनि गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ मा शिक्षक व्यवस्थापन गरिएका विद्यालयलाई मात्र एकमुष्ट अनुदान उपलब्ध गराइने जनाइएको छ।

गाउँपालिकाको यो निर्णयलाई न्यून पारिश्रमिकमा काम गरिरहेका शिक्षक तथा कर्मचारीको जीवनयापनमा केही राहत पुग्ने कदमका रूपमा स्थानीयस्तरमा हेरिएको छ। पछिल्लो समय बढ्दो महँगीका बीच स्थानीय तहले आफ्नै स्रोतबाट शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको सेवा-सुविधा बढाएको उदाहरणका रूपमा यो निर्णयलाई अन्य स्थानीय तहले पनि अध्ययन गर्न सक्ने विषय बनेको छ।

प्रकाशित: २ असोज २०८३ ७:३८ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast