काठमाडौँ- रोटरी क्लब अफ पाटन साउथले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रसुवामा हालै आएको बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार, राहत र पुनःस्थापनाका लागि रोटरी सदस्यहरूले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
त्रिशूली क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीले रसुवाको बाढीले अनपेक्षित र अकल्पनीय क्षति पुर्याएको बताए। उनले अब उद्धार तथा पुनःस्थापनाका काममा हरेक रोटरियनले आफ्नो तह र क्षेत्रबाट सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए।
उनले तत्कालीन राहतका अतिरिक्त बालबालिका तथा अन्य सहयोगापेक्षी समुदायलाई दीर्घकालीन रूपमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित सरकारी निकायसँग सहकार्यका लागि संवाद भइरहेको जानकारी दिए।
रोटरी क्लब अफ पाटन साउथका अध्यक्ष अजयकुमार कार्कीले भूकम्पलगायत विगतका विपत्तिमा पनि रोटरीले उल्लेख्य सहयोग गरेको स्मरण गर्दै विगतका अनुभवका आधारमा हालको विपत्तिपछिको पुनःस्थापनामा सम्बन्धित सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने बताए।
क्लबका पूर्वअध्यक्ष गोपालबाबु श्रेष्ठले विपत्तिमा ज्यान गुमाउनेले ज्यान गुमाइसकेको अवस्थामा अब जीवित पीडित परिवारको पुनःस्थापना र तत्कालीन उद्धार तथा राहतमा सहयोग केन्द्रित गर्नुपर्ने बताए।
‘पीडितहरूमध्ये ज्यान गुमाउनुपर्नेले गुमाइसक्नुभएको छ। अब बाँचेका परिवारलाई पुनःस्थापना गर्न तथा तत्काल उद्धार र राहतका लागि सहयोग गर्न सकिन्छ भन्ने हाम्रो छलफल भयो। त्यसैले हामीले संकलन गरेको रकम त्यही काममा खर्च गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
श्रेष्ठका अनुसार क्लबले आफ्नै पहलमा पहिलो दिनमै करिब दुई लाख रुपैयाँ संकलन गरेको थियो। त्यसमध्ये एक लाख रुपैयाँ रोटरी डिस्ट्रिक्ट ३२९२ मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी प्रदान गरिसकिएको छ। त्यस्तै मलेसियाको एक रोटरी क्लबले पनि एक लाख ५० हजार रुपैयाँ सहयोग पठाएको उनले जानकारी दिए।
श्रेष्ठले रोटरीले निश्चित क्षेत्रमा निश्चित काम गर्ने योजना बनाएर अघि बढेको बताए। त्यसबाहेक डिस्टि्रक्टको तर्फबाट पनि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने र पीडितहरूको पुनःस्थापना पूरा नभएसम्म, त्यसका लागि जति वर्ष लागे पनि, सहयोगलाई निरन्तरता दिने निर्णय भएको उनले जानकारी दिए।
‘पीडितहरूको पुनःस्थापनालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने।


