बाढीले क्षति गरेको कक्षाकोठा । तस्बिर सौजन्य : माया न्यौपाने ढकाल
काठमाडौँ- धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा बुधबार बिहान नियमितझैँ घण्टी बजेको थियो। चर्को घामबीच विद्यार्थीहरू बिहानी प्रार्थनाका लागि विद्यालय प्रांगणमा जम्मा हुँदै थिए।
विद्यालयकी प्रधानाध्यापक ज्ञानु थापा मगरका लागि त्यो बिहान पनि अन्य दिनजस्तै सामान्य थियो। तर केही मिनेटमै उनलाई सुनाइयो- ठूलो बाढी आउँदै छ, विद्यार्थीलाई तुरुन्त सुरक्षित ठाउँमा लैजानुस्।
यसले सबै कुरा बदलिदियो। विद्यालयको नियमित दिनचर्या आकस्मिक उद्धार अभियानमा परिणत भयो। केहीबेरअघि मात्रै लाइनमा उभिएका ४१६ विद्यार्थी र २७ शिक्षक तत्काल सुरक्षित स्थानतर्फ दौडिए। उनीहरूले छोडेर आएको विद्यालय केहीबेरमै रसुवाबाट आएको भोटेकोशी-त्रिशूली नदीको भीषण बाढीले डुबायो।
आइतबार हिमालप्रेससँग कुरा गर्दै प्रधानाध्यापक मगरले त्यो बिहानका प्रत्येक क्षण अझै ताजै रहेको सुनाइन्। उनका अनुसार ९ वर्षदेखि यही विद्यालयमा काम गरिरहेकी उनी कहिल्यै यस्तो विपत्ति आउने कल्पनासम्म गर्न सकेकी थिइनन्।
‘घाम लागेको थियो। हामीलाई सुरुमा विश्वास लागेन। यो विद्यालयमा मैले ९ वर्ष सेवा गरिसकेको छु। अहिलेसम्म यहाँ यस्तो बाढी आउने कल्पना पनि गरेको थिइनँ,’ उनले भनिन्।
पहिलो फोन आएपछि शिक्षकहरू अन्योलमा परे। विद्यालय त्रिशूलीबाट करिब एक किलोमिटर टाढा छ। त्यसैले नदीको बाढी विद्यालयसम्म आइपुग्छ भन्ने कसैले सोचेको थिएन। तर केहीबेरमै फेरि अर्को फोन आयो। त्यसपछि लगातार चेतावनी आउन थाले।
त्यसपछि निर्णय गर्न ढिलो गर्ने अवस्था रहेन। विद्यालय गहिरो स्थानमा छ। वरिपरि दुईवटा सम्भावित निकास छन्। कुन बाटो सुरक्षित हुन्छ भन्ने निश्चित जानकारी थिएन। सबैभन्दा ठूलो डर विद्यार्थीलाई सार्दै गर्दा बाढीले बाटोमै भेट्ला कि भन्ने थियो।
‘विद्यार्थीलाई सडक पार गराउँदै गर्दा बाढी आइहाल्ने हो कि भन्ने डर लागिरहेको थियो,’ उनी ती क्षण सम्झिन्छिन्।
त्यसपछि विद्यालयमा माइकिङ सुरु भयो। शिक्षकले विद्यार्थीलाई लाइनमा उभ्याए। हतार थियो तर आत्तिने वातावरण सिर्जना हुन दिएनन्। शिक्षकहरू एउटै कुरा दोहोर्याइरहेका थिए, ‘हामी सुरक्षित हुन्छौँ, आत्तिनु पर्दैन।’
प्रधानाध्यापक मगरका अनुसार त्यसबेला वास्तविक चुनौती बाढी कहाँ पुगेको छ भन्ने जानकारी नहुनु थियो। उनीहरूले फोन गरेर बाढीको अवस्थाबारे बुझ्न खोजे। तर नेटवर्क व्यस्त थियो। ‘हामीलाई बाढी कहाँ आइपुग्यो भन्ने जानकारी भएको भए त्यसअनुसार व्यवस्थापन गर्न सक्थ्यौँ,’ उनले भनिन्।
विद्यार्थी सुरक्षित स्थानमा पुगे। बाढी त्रिशूलीको मूल धारबाट सीधै विद्यालयमा आएको होइन। बाढी घुम्दै विद्यालय पुगेको थियो। ‘त्रिशूली नदीको बाढी घुमेर हाम्रो विद्यालय आइपुग्यो,’ उनले भनिन्। त्यसपछि विद्यालय परिसर एकैछिनमा लेदो र बालुवाले भरियो।
अहिले विद्यालय पुग्दा देखिने दृश्य कुनै शैक्षिक संस्थाभन्दा बढी विपत्तिको मैदानजस्तो देखिन्छ। भुइँतलाभरि करिब चार फिटसम्म लेदो र बालुवाको थुप्रो जमेको छ। कक्षाकोठामा हिलोको गन्ध आउँछ।
विद्यालयका चारवटा भवन छन्। तीनवटा दुईतले र एउटा तीनतले भवन। भुइँतलामा रहेका सबै १७ कक्षाकोठामा बाढी पस्यो। भवन भत्किएका छैनन्। तर भित्र रहेको प्रायः सबै सामग्री प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ। ‘भुइँतलामा भएका सबै सामग्रीमा क्षति पुगेको छ,’ उनले भनिन्।
फर्निचर हिलोमा पुरिएको छ। कतिपय बेन्च र डेस्क भाँचिएका छन्। दराज बिग्रिएका छन्। कम्प्युटर ल्याब ध्वस्त भएको छ। कम्प्युटरहरू काम नलाग्ने बनेका छन्।
शिक्षण सामग्रीसहित विद्यालय सञ्चालनका आधारभूत संरचनामा पनि असर परेको छ। विद्युत् प्रणाली बिग्रिएको छ। खानेपानी प्रणालीमा क्षति पुगेको छ। शौचालय प्रयोग गर्न सकिने अवस्थामा छैनन्। तर प्रधानाध्यापक ज्ञानु अहिले निराशाभन्दा पुनः विद्यालय सञ्चालनको योजनामै बढी केन्द्रित देखिन्छिन्। ‘यी सबै सुधार गरेर विद्यालय छिटोभन्दा छिटो सञ्चालन गर्ने पक्षमा छौँ,’ उनले भनिन्।

घटनाको अर्को पीडादायी पक्ष विद्यार्थीको व्यक्तिगत क्षति पनि हो। बाढीले धेरै विद्यार्थीका झोला बगायो। केही झोला पछि फेला परे। केही अझै हराएका छन्। प्रधानाध्यापकको अनुमान छ, कतिपय झोला अझै विद्यालय परिसरमै लेदोमुनि पुरिएका हुन सक्छन्।
त्यस दिन बाढीले सडक र पुल पनि क्षतिग्रस्त बनाएको थियो। त्यसैले विद्यार्थीलाई घर पठाउन समेत सहज भएन। अन्ततः विद्यालयले अभिभावकलाई सम्पर्क गरेर एक एक जनालाई जिम्मा लगाउँदै पठायो। ‘पुल भत्किएको थियो। बेलुका विद्यार्थीलाई घर पठाउन पनि समस्या भयो,’ उनले भनिन्।
घटनापछि अर्को चिन्ता पनि विद्यालयसँग जोडियो। यही विद्यालयका केही विद्यार्थीका अभिभावक गोसाइँकुण्ड क्षेत्रतर्फ जाँदा बाढीमा परेको खबर विद्यालयले सुनेको छ। त्यसले पीडा अझ गहिरो बनाएको छ।
अधिकांश विद्यार्थीले आफ्नै विद्यालय डुबेको दृश्य प्रत्यक्ष देखेका छैनन्। विद्यालय गहिरो स्थानमा भएकाले उनीहरू सुरक्षित स्थानतर्फ लागिसकेपछि मात्रै बाढी विद्यालयमा पसेको थियो। ‘विद्यार्थीले विद्यालय डुबेको धेरैले देखेका छैनन्,’ उनले भनिन्।
त्यसैले तत्काल उनीहरूमा ठूलो मानसिक आघात देखिएको छैन। तर शिक्षकहरूले सुरुदेखि नै मनोवैज्ञानिक रूपमा पनि विद्यार्थीलाई सम्हाल्ने प्रयास गरे। ‘हामीले विद्यार्थीलाई सुरक्षित हुन्छौँ भनेर काउन्सिलिङ गरेका थियौँ,’ उनले भनिन्।
घटनापछि स्थानीय प्रशासनले पनि सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। भविष्यमा फेरि यस्तै बाढी आउने हो कि भन्ने त्रास समुदायमा भने बाँकी छ।
विद्यालयका शिक्षकहरू पनि यो विपत्तिबाट अछुतो रहेनन्। विद्यालय नजिकै बस्ने केही शिक्षकका घरसमेत डुबानमा परेका छन्। त्यसैले उनीहरू आफ्नै घरको पीडा र विद्यालय पुनः सञ्चालन गर्ने जिम्मेवारीबीच दौडिरहेका छन्।
यसबीच शनिबारदेखि स्वयंसेवकहरूको टोली विद्यालय पुगेको छ। सरसफाइ सुरु भएको छ। सबैभन्दा पहिले चार फिटसम्म थुप्रिएको लेदो र बालुवा हटाउनुपर्नेछ। त्यसपछि मात्रै कक्षाकोठा सफा गर्न सकिने अवस्था आउँछ। त्यसपछि विद्युत्, पानी, शौचालय र फर्निचर पुनः व्यवस्थित गर्नुपर्नेछ।
प्रधानाध्यापक मगरका अनुसार अहिले विद्यालयलाई सबैभन्दा आवश्यक कुरा सहानुभूति मात्र होइन। ‘हामीलाई ठूलो सहयोगको आवश्यकता छ,’ उनी भन्छिन्, ‘बालुवा हटाइयोस्, फर्निचर पुनः बनाइयोस्, कम्प्युटर ल्याब पुनः स्थापना गरियोस् ताकि विद्यार्थी फेरि आफ्नै विद्यालय फर्कन सकून्।’
बुधबार बिहानको पूर्व सूचनाले विद्यार्थी र शिक्षक सकुशल रहे। विद्यालयको भौतिक स्वरूप तत्कालका लागि बदलिदियो। ‘विद्यालय फेरि बनाउन सकिन्छ,’ प्रअ ज्ञानु भन्छिन्,‘तर विद्यार्थी सुरक्षित हुनु नै सबैभन्दा ठूलो कुरा हो।’



