काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र पर्याप्त नदेखिएको भन्दै आवश्यक परे सरकारले विदेशी सहयोग लिन हिचकिचाउन नहुने बताएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पदाधिकारी, केन्द्रीय सदस्य र सरोकारवाला पक्षसँग भएको छलफलमा थापाले सुरुङ उद्धारका लागि बाह्य सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग आग्रह गरिसकेको जानकारी दिए।
‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ उनले भने।
विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वाभाविक भएको उल्लेख गर्दै उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने बताए।
बैठकले देशभर बाढी, पहिरो र डुबानबाट सिर्जित विपद्को अवस्थामा सरकारलाई पूर्ण सहयोग गर्ने, उद्धार र राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ। थापाले प्रतिपक्षी दलको भूमिका सरकारलाई सहयोग गर्नु भएको भन्दै कमजोरी औंल्याउनु आलोचना नभई सहयोगको हिस्सा भएको बताए। ‘सरकारका काममा रहेका ग्याप र कमजोरी औंल्याउनु आलोचना होइन, सहयोग हो,’ उनले भने।
विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न सुझाव दिए। ‘स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन सक्दैन,’ उनले भने।
देश शोकमा रहेको र हजारौं नागरिक विपद्बाट प्रभावित भएको अवस्थामा पार्टीका सबै तहलाई सार्वजनिक उत्सव र भड्किला कार्यक्रम नगर्न निर्देशन दिँदै थापाले अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित गर्नुपर्ने बताए।
‘हरितालिका तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किला कार्यक्रम नगर्न म आग्रह गर्दछु,’ उनले भने।
थापाका अनुसार सोमबारदेखि उनी नेतृत्वको कांग्रेसको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रको स्थलगत अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्नेछ।
फिल्डबाट प्राप्त वास्तविक अवस्थाका आधारमा सरकारलाई थप सुझाव र आवश्यक दबाब दिइने उनले बताए।


