रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

हिमाल प्रेस १० भदौ २०८३ २०:२८ | Wednesday, August 26, 2026
रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

काठमाडौँ- रसुवा बाढीमा परी विभिन्न जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन्।

नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि छन्।

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्।

चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र वरपर रहेको एक जना सम्पर्क बाहिर छन्।

यसैगरी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर रहेका छन्।

चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य सम्पर्कविहीन छन्।

त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्।

प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ कर्मचारी सम्पर्क बाहिर रहेका छन्।

रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा कार्य गर्ने एकजना सम्पर्क बाहिर रहेका छन् भने सोही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन्।

त्रिशुली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन्।

रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्र्याक्टरको तर्फबाट मर्मत संभारमा तथा निर्माण कार्यमा कार्यरत रहेका २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोली प्रभावित क्षेत्र पुगेर अनुगमन गरेको छ।

श्रेष्ठले हराइरहेकाहरुको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्नका लागि अर्को टोली स्थानीय क्षेत्रमा क्रियाशिल रहेको श्रेष्ठले बताए।

निमित्त कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको छ।

यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाहरुको विवरण संकलन गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित: १० भदौ २०८३ २०:२८ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast