विपत्‌पछि तिब्बतमा किन धेरै सन्नाटा?

हिमाल प्रेस १३ भदौ २०८३ २०:१४ | Saturday, August 29, 2026
विपत्‌पछि तिब्बतमा किन धेरै सन्नाटा? दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको केरुङ बन्दरगाहमा पहिरो गएपछि माथिल्लो तटीय क्षेत्रमा बनेको ताल। तस्बिर साभार : ग्लोबल टाइम्स

काठमाडौँ- पानीको तीव्र बहाव नेपाल र तिब्बतबीचको मुख्य सीमा नाकाहरूमध्ये एक ग्यिरोङ पोर्ट (केरुङ) नाका भएर बगिरहेको थियो। आफ्नो बाटोमा आएका सबै कुरा बगाएर लगिरहेको थियो।

अर्कोतर्फ सयौँ मानिस आफ्नो ज्यान जोगाउन हतारहतार भागिरहेका थिए।

बुधबार बिहान (भदौ १० गते) सीसीटीभी क्यामेरामा कैद भएका यी दृश्य द्रुत गतिमा सामाजिक सञ्जाल र विश्वभरका स्क्रिनहरूमा पुगे।

तर चीनमा भने त्यस्तो भएन।

अहिलेसम्म देशको सरकारी मुख्य समाचार बुलेटिनमा यी दृश्यहरूको एउटा मात्र तस्बिर प्रसारण गरिएको छ।

चीनको ‘सेन्सरसिप’ भएको इन्टरनेटमा पनि यो भिडियो फेला पार्न गाह्रो परेको छ। बुधबारदेखि आएको यो आकस्मिक बाढीमा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् र उत्तिकै संख्यामा बेपत्ता छन्। तर यो बाढीको चर्चा गरिएका पोस्टहरू भेट्टाउन उत्तिकै गाह्रो छ।

बेइजिङले सयौँ आपत्कालीन कर्मचारीलाई परिचालन गर्दै ठूलो मात्रामा उद्धार अभियान थालेको छ, जुन अझै जारी छ। राष्ट्रपति सी जिनफिङले पनि अधिकारीहरूसँग आपत्कालीन बैठकको अध्यक्षता गर्दै राहत र उद्धार प्रयासहरूको समीक्षा गरेका छन्।

यतिबेला विश्वका अधिकांश भागमा इन्टरनेटमा उपलब्ध सामग्रीसँग उपलब्ध सामग्रीको तुलना गर्दा, चीनको इन्टरनेट फायरवाल पहिलेभन्दा अझ बढी स्पष्ट देखिन्छ।

तिब्बत जसलाई चीनले १९५० को दशकमा आफ्नो नियन्त्रणमा लिएको थियो, लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टी शासनको विरोध गर्दै आएको क्षेत्र हो।

चीनले वर्षौँदेखि विरोध प्रदर्शन दबाउँदै आएको छ। कतिपय अवस्थामा हिंसात्मक रूपमा पनि र उनीहरूमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको आरोप लाग्दै आएको छ। उसले निर्वासित आध्यात्मिक नेता दलाई लामालाई पृथकतावादी घोषणा गरेको छ।

यो इतिहासको अर्थ के हो भने तिब्बतको नाम मात्रले पनि चीनका सेन्सरहरू सक्रिय हुन्छन्। यस्तो समयमा बेइजिङको संवेदनशीलता अझ स्पष्ट रूपमा देखिन्छ।

मृतक र बेपत्ता मानिसहरूको संख्यालाई लिएर दैनिक जानकारीहरू सार्वजनिक गरिएका छन्। बेइजिङले उद्धार अभियान र त्यो बाँध बाट सिर्जित खतराबारे पनि जानकारी दिइरहेको छ, जसको पानी भरिएर बाहिर निस्कने खतरा बनेको छ।

यसबाहेक धेरै जानकारी छैन। तिब्बतमा बाँचेका मानिसहरूको यथार्थ जानकारी बाहिर आएको छैन र बाढीका भयवाह क्षणहरू वा त्यसपछिको स्थिति देखाउने भिडियाहरू पनि हेर्न पाइएको छैन।

बेपत्ता भएका मानिसका परिवारको आवाज सुनिएको छैन। सामान्य समयमा पनि त्यहाँका मानिससँग सम्पर्क गर्नु लगभग असम्भव हुन्छ।

बिहीबार राति, जब विश्वभरका मुख्य समाचारहरूमा हिमालयको एउटा उपत्यकामा भएको विनाश छाइरहेको थियो, चीनको सरकारी प्रसारणकर्ताले आफ्नो मुख्य बुलेटिनको थालनी सी जिनफिङको नयाँ पुस्तक विमोचनबाट गर्‍यो। यो पुस्तक उनका सबैभन्दा महत्त्वपूर्ण र मौलिक कार्यहरूको संग्रह हो।

विदेशी पत्रकारहरू सरकारी अनुमतिविना तिब्बतको भ्रमण गर्न पाउँदैनन्। यस प्रकारका ठूला समाचारमा भिडियो हटाइनु र मानिसका आवाज दबाइनुअघि बढीभन्दा बढी जानकारी संकलन गर्नका लागि केही घण्टामात्र हुन्छ।

यसको सट्टा सरकारी मिडियामा भर पर्नुपर्छ, जसले अहिलेसम्म अत्यन्तै नाटकीय उद्धार अभियानहरूमा ध्यान केन्द्रित गरेको छ।

विशेषज्ञ उद्धार टोलीहरू पहाड र ठाडो चट्टानहरूमा बढिरहेका छन्, वा उर्लिएका नदीहरू पार गरेर सबैभन्दा बढी प्रभावित क्षेत्रहरूसम्म पुग्ने प्रयास गरिरहेका छन्। तर त्यसपछि के भयो वा उनीहरू कति मानिसलाई बचाउन सफल भए भन्ने कुरा हामीलाई अझै थाहा छैन।

यसको अर्थ बेइजिङ यो घटनालाई लिएर चिन्तित छैन भन्ने होइन। बरू उनीहरू अत्यन्तै चिन्तित छन्।

चीनका प्रधानमन्त्री ली चियाङलाई तुरुन्तै यस क्षेत्रमा पठाइयो, जहाँ उनी फोहोर र लेदो पन्छाउने कामको निरीक्षण गरिरहेको देखिए। यति ठूलो विपद्को लगत्तै देशका दोस्रो महत्त्वपूर्ण नेताले यसरी भ्रमण गर्नु दुर्लभ मानिन्छ।

विश्वलाई जुन प्रतिक्रिया तुलनात्मक रूपमा सुस्त वा सीमित लाग्न सक्छ, त्यसको कारण त्यो एउटा कुरा जोगाएर राख्नु हो, जुन सी आफ्नो देशका लागि सबैभन्दा बढी चाहन्छन्, स्थायित्व।

कम्युनिस्ट पार्टीलाई डर होला कि यस्तो विपद्ले मानिसमा असन्तोष उत्पन्न गर्न सक्छ, चाहे त्यो राहत र उद्धार कार्यलाई लिएर होस् वा विपद् रोक्न पहिले नै पर्याप्त तयारी किन गरिएन भन्ने कुरालाई लिएर होस्।

उनीहरूलाई यो पनि डर हुन सक्छ कि यस्तो त्रासदीको के असर पर्छ र यसले मानिसहरूलाई एकै ठाउँमा ल्याउने कारण बन्न सक्छ, खास गरी यस्तो समुदायमा जहाँ लामो समयदेखि आस्थाको केन्द्रीय भूमिका रहँदै आएको छ।

यद्यपि यस क्षेत्रमा लामो समयदेखि कुनै विरोध प्रदर्शन भएको छैन। विदेशमा बसोबास गरिरहेका तिब्बती समूहहरूले चीनको बढ्दो नियन्त्रणलाई लिएर चिन्ता व्यक्त गरेका छन्। यसमा शिक्षासँग सम्बन्धित नयाँ कानुन पनि समावेश छन्, जसको उद्देश्य गुम्बा र बौद्ध धर्मको भूमिकालाई कमजोर पार्नु रहेको उनीहरूको भनाइ छ।

विपद् आएको केही घण्टामै कम्युनिस्ट पार्टीको संयन्त्रले पहिरो नियन्त्रण गर्ने सरकारको तरिकालाई लिएर असन्तोषको कुनै पनि संकेत रोक्न आफ्ना तल्लो तहका कार्यकर्तालाई सक्रिय गराउन थाल्यो।

स्थानीय पार्टी कार्यालयका तर्फबाट जारी एउटा सूचनामा सदस्यहरूलाई आआफ्नो क्षेत्रमा राहत र उद्धार प्रयासहरूमा सक्रियताका साथ सहयोग गर्न र प्रभावित मानिसहरूलाई भावनात्मक मार्गदर्शन वा मनोवैज्ञानिक सहायता प्रदान गर्न आग्रह गरिएको थियो।

यसमा मुख्य निर्देश थियो कि उनीहरूले विपद् प्रभावित क्षेत्रहरूमा सामाजिक व्यवस्था कायम राख्न र स्थायित्वका साथ जनताको विश्वास सुनिश्चित गर्न हरसम्भव प्रयास गरून्। राम्रो प्रदर्शन गर्नेहरूलाई पुरस्कृत गरिनेछ भने खराब प्रदर्शन गर्नेहरूलाई ‘जवाफदेही ठहराइनेछ।

यो एउटा यस्तो चेतावनी हो जसलाई हल्का रूपमा लिन सकिँदैन। मानवअधिकार कार्यकर्ताहरूका अनुसार यस क्षेत्रमा तिब्बतीहरूलाई पत्रकारहरूसँग कुरा गरेको वा अनलाइनमा सरकारको आधिकारिक न्यारेटिभ (कथन) को विपरीत ठानिने कुनै सामग्री पोस्ट गरेको आरोपमा हिरासतमा लिन वा गिरफ्तार गर्न सकिन्छ।

यस कारणले गर्दा क्षेत्र बाहिर बस्ने तिब्बतीका लागि आफ्ना आफन्तहरूलाई के भयो भनेर पत्ता लगाउन गाह्रो भइरहेको छ।

इन्टरनेसनल क्याम्पेन फर तिब्बतले क्षेत्रमा राहत र उद्धारकर्ताहरूको कामको प्रशंसा गर्दै बेइजिङले सोसल मिडियाबाट भिडियो र अन्य प्रत्यक्ष जानकारीहरू हटाइरहेको बताएको छ। सङ्गठनले चिनियाँ अधिकारीहरूसँग क्षति र हताहतबारे पूर्ण र सत्यापनयोग्य जानकारी सार्वजनिक गर्न अपिल गरेको छ।

तिब्बतीहरूको जीवन कस्तो छ भनेर बुझ्नका लागि बीबीसीले गत वर्ष हिमालयन पठारको किनारमा बसेको एउटा सहरको भ्रमण गरेको थियो, जुन चीनका अनुसार तिब्बत स्वायत्त क्षेत्रको बाहिर पर्छ।

त्यहाँ हामीले अबा, जसलाई तिब्बती भाषामा ङाबा भनिन्छ, स्थित कीर्ति गुम्बाका भिक्षुहरूसँग कुरा गरेका थियौँ। यो गुम्बा कुनै समय बेइजिङविरुद्ध तिब्बती प्रतिरोधको प्रमुख केन्द्र थियो। एक भिक्षुले हामीलाई भनेका थिए, ‘हामी तिब्बतीहरूलाई आधारभूत मानवअधिकारबाट वञ्चित राखिएको छ।’

उनीहरू निरन्तर निगरानीमा रहने र चिनियाँ सरकारले तिब्बतीहरूको दमन र उत्पीडन गर्ने गरेको आरोप उनले लगाए। कुराकानी धेरै छोटो राख्नुपरेको थियो, किनकि हामीलाई लामो समयसम्म कसैसँग कुरा गरिरहेको देख्न मिल्दैनथ्यो।

बेइजिङले तिब्बतीहरूको अधिकार उल्लंघन गरिरहेको कुरा अस्वीकार गर्छ। पर्यटनलाई प्रवर्द्धन गर्न र यस क्षेत्रलाई देशका बाँकी भागहरूसँग जोड्नका लागि त्यहाँ ठूलो मात्रामा लगानी गरेको उसको भनाइ छ।

तैपनि यतिबेला चीनका मानिसहरूलाई तिब्बतमा वास्तवमा के भइरहेको छ भन्नेबारे धेरै कम जानकारी हुनेछ। बीबीसीबाट

प्रकाशित: १३ भदौ २०८३ २०:१४ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast