चिनियाँ राष्ट्रपति सी चिनफिङ। तस्बिर : एपी/रासस
काठमाडौँ– चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से सहरको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाह क्षेत्रमा बुधबार बिहान गएको बाढीपहिरोपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्य तीव्र पार्न निर्देशन दिएका छन्। केरुङमा आएको बाढीपहिरोको प्रभाव नेपालतर्फ पनि परेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ।
बुधबार बिहान स्थानीय समयअनुसार करिब १०ः३० बजे केरुङ बन्दरगाह क्षेत्रमा पहिरो गएको थियो। घटनामा केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। विपद्का कारण चिनियाँ भूभागतर्फ बन्दरगाह जाने सडक, सञ्चार तथा विद्युत् आपूर्ति अवरुद्ध भएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
विपद्पछि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले घटनालाई उच्च महत्त्व दिँदै बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
उनले जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्न, घाइतेको शीघ्र उपचार गर्न र मानवीय क्षति न्यूनीकरणका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका छन्।
सीले विपद्को अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक विधिबाट उद्धार कार्य सञ्चालन गर्न र सम्भावित थप विपद् रोक्न आवश्यक कदम चाल्न पनि जोड दिएका छन्।
‘हामी अहिले बाढी रोकथामका लागि महत्त्वपूर्ण समयमा छौँ। सबै क्षेत्र र सम्बन्धित निकायले बाढी तथा आँधीबेहरी रोकथामका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,’ सीले भनेका छन्, ‘विभिन्न जोखिम र लुकेका खतराको पहिचान तथा व्यवस्थापनलाई बलियो बनाउँदै ठूला विपद् र दुर्घटना रोक्नुपर्छ र जनताको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ।’
सिन्ह्वाका अनुसार चीनका प्रधानमन्त्री ली छियाङले पनि केरुङको बाढीपहिरोमा बेपत्ता तथा प्रभावितको संख्या तत्काल यकिन गर्न, उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका मानिसलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री लीले वैज्ञानिक उद्धार विधि अपनाउँदै थप विपद् रोकथाममा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले घटनासँग सम्बन्धित देशहरूसँग सञ्चार तथा समन्वय थप सुदृढ गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्।
‘परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूसँग सञ्चार र समन्वयलाई सुदृढ पार्नुपर्छ र स्थितिबारे तत्काल जानकारी गराउनुपर्छ। उद्धार तथा व्यवस्थापन कार्यलाई संयुक्त रूपमा उचित ढंगले अघि बढाउनुपर्छ,’ लीले भनेका छन्।
उनले राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयलाई विभिन्न क्षेत्रमा विपद् जोखिम तथा लुकेका खतराको विस्तृत अध्ययन गर्न, जोखिमको अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन र जोखिम न्यूनीकरण तथा उद्धारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
चिनियाँ भूभागमा सडक, सञ्चार र विद्युत् अवरुद्ध
सिन्ह्वाका अनुसार केरुङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले बाढीपहिरोका कारण चिनियाँ भूभागतर्फ केरुङ बन्दरगाह जाने सडकसँगै सञ्चार र विद्युत् आपूर्ति अवरुद्ध भएको जनाएको छ।
सिगात्से नगरपालिकाको प्रचार विभागअन्तर्गत समाचार शाखाका प्रमुख तेन्जिन नोर्बुले ग्लोबल टाइम्ससँग स्थानीय सरकारले विपद् प्रभावित क्षेत्रमा कर्मचारी परिचालन गरिरहेको बताएका छन्। सञ्चार सम्पर्क विच्छेद भएकाले घटनास्थलको अवस्थाबारे आफूले अहिलेसम्म पूर्ण जानकारी प्राप्त गर्न नसकेको उनको भनाइ छ।
केरुङ बन्दरगाह चीन र नेपाललाई जोड्ने प्रमुख स्थलमार्गमध्ये एक हो।
चिनियाँ दूतावासले नेपालमा पनि सक्रिय गर्यो आपत्कालीन संयन्त्र
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले बुधबार सूचना जारी गर्दै चीन–नेपाल सीमाको केरुङ–रसुवा बन्दरगाह क्षेत्रमा आकस्मिक बाढी आएको जनाएको छ।
दूतावासले घटनापछि आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय पार्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको सुरक्षाबारे मूल्याङ्कन गरिरहेको जनाएको छ।
दूतावासले नेपाल सरकार तथा सम्बन्धित निकायलाई उद्धार कार्यमा सक्दो प्रयास गर्न आग्रह गरेको छ।
नेपालमा रहेका चिनियाँ नागरिक तथा संस्थाका लागि सुरक्षा सुझाव जारी गर्दै दूतावासले मौसम पूर्वानुमान, पूर्वचेतावनी सूचना तथा सडकको अवस्थाबारे नजिकबाट निगरानी गर्न आग्रह गरेको छ। साथै, पहाडी खोँच, नदी किनार तथा बाढीको जोखिम भएका होचा भूभागलगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेका क्षेत्रबाट टाढा रहन सुझाव दिएको छ।
चिनियाँ नागरिकलाई अनावश्यक रूपमा पहाडी, नदी तथा जलक्षेत्र आसपासका वा सञ्चार सुविधा कमजोर भएका दुर्गम क्षेत्रमा यात्रा नगर्न र आपत्कालीन अवस्था उत्पन्न भए स्थानीय अधिकारीका निर्देशन पालना गर्न दूतावासले आग्रह गरेको छ।
त्यस्तै, चिनियाँ कम्पनी तथा संस्थाहरूलाई कार्यस्थलको सुरक्षा व्यवस्था सुदृढ गर्न, सम्भावित जोखिम पहिचान गर्न, आपत्कालीन सामग्रीको तयारी गर्न तथा विपद् प्रतिकार्य क्षमता बढाउन आग्रह गरिएको छ।
केरुङ–रसुवा नाका चीन र नेपालबीचको प्रमुख स्थलमार्ग भएकाले त्यहाँको बाढीपहिरोले सीमापार आवागमन तथा सीमावर्ती क्षेत्रमा समेत प्रभाव पारेको छ।


