बाढीको कहर : ४६९ शव फेला, ७ बैंकका २७ कर्मचारी बेपत्ता

हिमाल प्रेस १२ भदौ २०८३ ८:४९ | Friday, August 28, 2026
बाढीको कहर : ४६९ शव फेला, ७ बैंकका २७ कर्मचारी बेपत्ता

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी प्रभावित ८ जिल्लामा ४६९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो।

यसैबीच, भोटेकोशी र त्रिशूली नदी आसपासका बैंक शाखामा कार्यरत २७ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि ती कर्मचारीसँग सम्पर्क हुन सकेको थिएन। उद्धार तथा खोजीका लागि सम्बन्धित तहबाट प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहीन हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना, माछापुच्छ्रे बैंकका ५ जना, सानिमा बैंकका २ जना, लक्ष्मी सनराइज बैंकका ३ जना, हिमालयन बैंकका १ जना, एनएमबी बैंकका ४ जना र प्रभु बैंकका ५ जना कर्मचारी छन्।

बाढीका कारण विभिन्न बैंकका ९ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको संघले जनाएको छ। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका शाखा कार्यालयमा ठूलो क्षति पुगेको छ।

बैंकका शाखामा भएको भौतिक क्षतिको यकिन विवरण भने अझै संकलन हुन सकेको छैन। शाखामा रहेका लकर, भल्ट तथा नगदलगायतका सामग्रीको अवस्था समेत यकिन नभएकाले क्षतिको प्रारम्भिक अनुमान गर्नसमेत कठिन भएको कोइरालाले बताए।

बाढीका कारण काठमाडौँ-मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गसमेत अझै अवरुद्ध छ। बाढीले धादिङको गल्छी र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध भएको हो।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार गजुरी गाउँपालिकाका दुई स्थान र गल्छी गाउँपालिकाको एक स्थानमा थुप्रिएको लेदो हटाउन बाँकी छ।

गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभान क्षेत्रमा लेदोका कारण सडक सञ्चालनमा आउन सकेको छैन।

सडकमा थुप्रिएको लेदो हटाउन उपकरण प्रयोग भइरहेको छ। बस्ती रहेको क्षेत्रमा थुप्रिएको लेदो अन्यत्र लगेर व्यवस्थापन गर्नुपर्ने भएकाले सडक खुलाउन समय लागेको प्रहरीको भनाइ छ।

प्रकाशित: १२ भदौ २०८३ ८:४९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast