काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नागरिकका लागि रसुवा र नुवाकोटमा संघीय तथा स्थानीय सरकारको सहकार्यमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४ सय ५४ जना प्रभावितले आश्रय र राहत सुविधा प्राप्त गरेका छन्।
सबैभन्दा धेरै प्रभावित रहेको नुवाकोटमा १६ वटा आश्रयस्थलमा २ हजार २ सय ७४ जनालाई सुरक्षित स्थानमा राखिएको छ। विदुर नगरपालिकाको तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा, त्रिशूली ढुंगे र सिमचौर क्षेत्रका नागरिकलाई सेफहाउस तथा किरियापुत्री भवनमा र बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ।
त्यसैगरी बट्टारमा कवर्ड हल, देवीघाटमा आयुर्वेद वैकल्पिक चिकित्सालय, भैसेमा सुन्दरी क्यैरिनी माध्यमिक विद्यालय तथा त्रिशूली बजारका प्रभावितलाई कोलोनी कवर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा सञ्चालन गरिएका शिविरमा राखिएको छ।
विदुर-३ को सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ भने विदुर-९ का नागरिकलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा आश्रय दिइएको छ। बेलकोटगढीको रातमाटे-जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालयमा, किस्पाङ गाउँपालिका-५ का नागरिकलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ। रसुवाका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा पनि व्यवस्थापन गरिएको छ।
उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर-२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी-७ को महादेव माध्यमिक विद्यालय र विदुर-९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।
रसुवामा पनि राहत तथा उद्धार अभियान तीव्र बनाइएको छ। जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १ सय ८० जनाले आश्रय लिएका छन्।
उत्तरगया गाउँपालिका-२ को डाँडागाउँ, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, पाङलिङ र ग्रे तथा गोसाइँकुण्ड गाउँपालिकाका थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीलगायत क्षेत्रमा आश्रयस्थल सञ्चालनमा रहेका छन्।
सरकारका अनुसार राहत सामग्री नपुगेको कुनै पनि स्थान नरहेको र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पुर्याइएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि सुदृढ पारिएको छ। धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिप्याड क्षेत्रमा प्रादेशिक अस्पतालको टोली, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी तथा नेपाल सेनाको स्वास्थ्य टोली उपचार सेवामा खटिएका छन्।
स्थानीय प्रशासन र सुरक्षा निकायले थप क्षति रोक्न, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत र औषधोपचार प्रभावकारी रूपमा पुर्याउन उच्च सतर्कताका साथ काम गरिरहेको जनाएको छ।


