भोटेकोशी बाढीले रसुवामा २८५ विद्यार्थी सम्पर्कविहीन, ४ विद्यालय पूर्ण क्षति, १६ शिक्षक बेपत्ता

हिमाल प्रेस ३१ भदौ २०८३ १२:३२ | Wednesday, September 16, 2026
भोटेकोशी बाढीले रसुवामा २८५ विद्यार्थी सम्पर्कविहीन, ४ विद्यालय पूर्ण क्षति, १६ शिक्षक बेपत्ता भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रहारबाट विदुर नगरपालिका वडा नं १० गेर्खुखोला दोबानस्थित मझुवामा पहाड नै फोरेर पर्‍याएको क्षति। बाढीको बहाबको दबाबले पहाड फोरेर पसेको बाढीले यस आसपासका बस्ती र खेतीयोग्य भूमि क्षति बनाई बगरमा परिणत गर्दै नदीको बहाब नै फेरिएको छ। तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा जिल्लामा शैक्षिकमा गम्भीर क्षति पुर्‍याएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र  (शिक्षा विभाग) को नेतृत्वमा युनिसेफ, सेभ द चिल्ड्रेन र शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको संयुक्त टोलीले तयार पारेको द्रुत मूल्यांकन प्रतिवेदनअनुसार बाढीका कारण २८५ विद्यार्थी सम्पर्कविहीन भएका छन् भने १६ शिक्षक-कर्मचारी बेपत्ता र एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ।

प्रतिवेदनमा बाढीका कारण कम्तीमा ४० विद्यार्थीले आफ्ना आमाबुबा दुवै गुमाएको वा दुवै अभिभावक सम्पर्कविहीन भएको उल्लेख छ। यसले बाल संरक्षण र निरन्तर शिक्षाको चुनौती थप गम्भीर बनेको प्रतिवेदनले औँल्याएको छ।

बाढीले रसुवाका चार विद्यालय बगाएर नष्ट गरेको छ। गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, उत्तरगया गाउँपालिका-४ को मालिका देवी आधारभूत विद्यालय, उत्तरगया-१ को चिप्लेटी आधारभूत विद्यालय र उत्तरगया-५ बेत्रावतीस्थित मोडर्न ट्रिनिटी इङ्लिस स्कूल पूर्ण नष्ट भएका हुन्।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ विद्यार्थी र ६ शिक्षक बेपत्ता छन् भने मालिका देवी आधारभूत विद्यालयका १८ विद्यार्थीमध्ये ११ बेपत्ता र सात विस्थापित भएका छन्। मोडर्न ट्रिनिटी इङ्लिस स्कूलका प्रधानाध्यापक सुरज डंगोलको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नीलकण्ठ माध्यमिक विद्यालयका करिब २०० विद्यार्थी, गोसाइँकुण्ड इङ्लिस स्कूलका १९ विद्यार्थी, टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २५ विद्यार्थी र मोडर्न ट्रिनिटी इङ्लिस स्कूलका १० विद्यार्थी सम्पर्कविहीन छन्।

जिल्ला प्रशासन कार्यालय रसुवाले भदौ २२ गतेसम्म गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ।

कार्यालयका अनुसार जिल्लाका १,३९३ स्थानीय, १,२८६ अन्य जिल्लाका नागरिक र २६८ विदेशी पर्यटक गरी कुल ३,११४ जना बेपत्ताको सूचीमा छन्। सोही अवधिसम्म १६९ शव फेला परेकोमा ६ जनाको मात्र सनाखत भएको र १६३ शवको पहिचान हुन बाँकी रहेको छ।

बाढीले १,५०० निजी घर, आठ जलविद्युत् आयोजना, ४१ किलोमिटर सडक, छ पक्की पुल, आठ ट्रस तथा बेली पुल र १० झोलुङ्गे पुलमा क्षति पुगेको प्रशासनले जनाएको छ। विभिन्न विद्यालय, गुम्बा तथा अन्य आश्रयस्थलमा ७३३ जना विस्थापित आश्रित रहेका छन्।

द्रुत मूल्यांकन प्रतिवेदनले विद्यालय नष्ट भएका तथा अभिभावक गुमाएका बालबालिकालाई सुरक्षित छात्रावासमा राखेर अध्ययनको व्यवस्था गर्न, विद्यालयमा सञ्चालित होल्डिङ सेन्टर अन्यत्र सार्न, मनोसामाजिक परामर्श र शैक्षिक सामग्री तत्काल उपलब्ध गराउन तथा मानव तस्करी र बालश्रमको जोखिम रोक्न विशेष निगरानी गर्न सिफारिस गरेको छ।

प्रतिवेदनअनुसार नौकुण्डमा भदौ ११ देखि र कालिकामा भदौ २२ देखि विद्यालय सञ्चालन सुरु भइसकेको छ भने उत्तरगया, आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा भदौ २४ देखि २६ गतेभित्र पठनपाठन सुचारु गर्ने तयारी गरिएको छ।

स्थलगत सर्वेक्षणमा शिक्षा विभागका निर्देशक डा.श्यामप्रसाद आचार्यको संयोजकत्वमा युनिसेफका सदस्य ई.डोरबहादुर योगी, विभागकै ई.विष्णु प्रसाद पौडेल,ई.सुरज पराजुली, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका ई.यशव खड्का र सेभ द चिल्ड्रेनका ई.नविन चौधरी  रहेका थिए।

विभागले स्थानीय तहबाट प्राप्त अद्यावधिक जानकारी अनुसार यी तथ्यांकहरूमा भिन्नता हुन सक्ने जनाएको छ।

प्रकाशित: ३१ भदौ २०८३ १२:३२ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast