भोटेकोशी बाढी : क्षतिको विवरण संकलन गर्न बल्ल समिति

हिमाल प्रेस ३१ भदौ २०८३ ११:२७ | Wednesday, September 16, 2026
भोटेकोशी बाढी : क्षतिको विवरण संकलन गर्न बल्ल समिति

रसुवा- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण संकलन गर्न रसुवामा २५ सदस्यीय तथ्यांक मूल्यांकन समिति गठन गरिएको छ ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण एक महिनाभित्र संकलन गर्न समितिलाई कार्यादेश दिएको छ ।

समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था तथा निकायका प्रमुख प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी छन् ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्यसञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत भएको छ ।

त्यस्तै, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित सङ्घसंस्था वा व्यक्तिले माग गरेअनुसार रसुवा उडानको अनुमति लिन लिखित अनुरोध प्राप्त भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । क्षतिको यकिन विवरण संकलन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्याङ्क मूल्याङ्कन समितिले काम गर्ने जनाइएको छ ।

यसैबीच, बाढीले बगाएका रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोशी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटोभन्दा छिटो जडान गरी सडक तथा पैदलमार्गको सञ्जाल जोड्न रसुवा नागरिक समाजले अनुरोध गरेको छ ।

प्रकाशित: ३१ भदौ २०८३ ११:२७ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast