विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त खड्ग केसी र सचिव रोजी श्रेष्ठ को हुन्?

हिमाल प्रेस २० साउन २०८३ १६:०६ | Wednesday, August 5, 2026
8
SHARES
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त खड्ग केसी र सचिव रोजी श्रेष्ठ को हुन्? प्रा.डा.खड्गबहादुर केसी

काठमाडौँ- सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा.खड्गबहादुर केसी र सचिवमा प्रा.डा.रोजी श्रेष्ठलाई नियुक्त गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष र श्रेष्ठलाई सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। तत्कालीन उपकुलपति प्रा.डा.केसरजंग बरालको राजीनामापछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

पर्वतको मोदी गाउँपालिका-५, बाजुङका केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति र नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) गरेका छन्। तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका केसी रेक्टर नियुक्त हुनुअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी उनका विभिन्न अनुसन्धानमूलक लेख तथा पुस्तक प्रकाशित छन्।

त्यस्तै, आयोगको सचिवमा नियुक्त प्रा.डा.रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। सचिव नियुक्त हुनुअघि उनी बी एन्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्।

श्रेष्ठले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पीएचडी, भारतको क्रिश्चियन मेडिकल कलेज, लुधियानाबाट मेडिकल-सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छन्। उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक र पीसीएल नर्सिङ पनि पूरा गरेकी छन्।

उनले बी एन्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखका रूपमा समेत काम गरिसकेकी छन्।

नर्सिङ अनुसन्धानमा विद्यावारिधि हासिल गरेबापत श्रेष्ठ राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भइसकेकी छन्। नेपालमा नर्सिङ विषयमा पहिलो पटक विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन्।

प्रकाशित: २० साउन २०८३ १६:०६ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast