काठमाडौँ- गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन्।
सो अवधिमा सबैभन्दा बढी अर्थात् एक हजार २४ आगलागीका घटना भएका छन्। सर्पदंश ७१६, चट्याङ २३१, लेक लाग्नु ५७, पहिरो ६८५, जनावर आक्रमण २२५, बाढी २००, हुरीबतास ४८०, भारी वर्षा २२७, डढेलो १९१, डुंगा पल्टनु र विस्फोटका समान एक–एक घटना भएका छन्।
असिना र भूकम्प चार–चार छन् भने अन्य पाँचवटा घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ। विपद्का कारण पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन्।
विपदबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने, सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपद्का घटना घटेका छन् । विपदमा परेर एकजनाको ज्यान गएको छ भने २० घाइते भएका छन्। विपद्का कारण देशभरका २५ जिल्ला प्रभावित भएका छन्। देशका दुई सडक अवरुद्ध हुन पुगेको छ। विपद्का कारण रु २७ लाख २५ हजारबराबरको अनुमानित क्षति भएको छ । उद्धार, राहत लगायतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो। रासस


