बुढीगण्डकीमा बाढी आउनुको यस्तो छ कारण

हिमाल प्रेस २८ असोज २०८३ १६:१० | Wednesday, October 14, 2026
14
SHARES
बुढीगण्डकीमा बाढी आउनुको यस्तो छ कारण

काठमाडौँ- आइतबार गोरखास्थित बुढीगण्डकी नदीमा भीषण बाढी आउनुको कारण पहिरो मुख्य कारण रहेको देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी लगत्तै त्यस क्षेत्रमा अनुसन्धान गरेको थियो। सोही अनुसन्धानबाट बाढी आउनुको कारण हिमताल फुटेको नभई पहिरो कारण देखिएको हो।

प्रतिवेदनअनुसार चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोला (चामर हिमाल र स्येराङ्गी हिमाल) बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा रहेको इबेटन टेथिस हिमालयमा पाइने कमजोर चट्टानबाट करिब ६ हजार मिटर उचाइमा हिमपहिरो र करिब पाँच हजार पाँच सय मिटर उचाइमा रहेको हिउँ तथा गेग्रानसहितको ठूलो पहिरो सिर्जना भएको हो।

प्रतिवेदनअनुसार आइतबार बिहान ४:२० बजे नै पहिरो खसेको र पहिरो उङ्दिलुङ खोला र स्यार खोलाको साघुरो दोभानमा धेरै मात्रामा एकै पटक गेग्राान जम्मा हुँदा स्यार खोलाको पानीको बहाव अवरुद्ध हुने र खुल्ने भएको थियो। यो प्रक्रिया निरन्तर चलेको र यसका कारण तल्लो क्षेत्रमा रहेको बुढीगण्डकीमा पटकपटक बाढी आएको प्रतिवेदनमा उल्लेख छ।

लेदोसहितको बाढी करिब ४:३० बजे सल्लेरी पुगेको र उक्त बाढीको सबैभन्दा ठूलो सतह करिब २०-२५ मिटर सल्लेरीमा रहेको हाइड्रोपावर क्याम्पमा पुगी करिब ६:३० बजे बगाएको छ।

उक्त सबैभन्दा ठूलो बाढीको सतहका कारण केही भवनहरू तथा सोती खोला र बूढीगण्डकीमा रहेको पक्की पुललगायतका संंरचनामा मुख्य क्षति पुगेको छ।

‘बाढीको सतह सिर्जना हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको ठूलो गेग्रानको भूमिका उल्लेखीय रहेको थियो’, प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सोही क्षेत्रमा ३.५ म्याग्निच्युट बराबरको भूकम्पीय शक्तिसमेत उत्पन्न भएको थियो।

बाढीका कारण हालसम्म चार पुरुष र दुई महिला बेपत्ता छन्। बाढीका कारण दुई पक्की, पाँच झोलंगु, एक बेलिब्रिज र क्यानटिलिभर पुलमा क्षति भएको छ। तीन जलविद्युतमा क्षति पुग्नुका साथै एक विद्यालय र १४० देखि १५० वटा चौपाया बगाएको प्रतिवेदनमा उल्लेख छ।

बाढी बस्तीमा पस्दा चुमनब्री वडा नम्बर ३ स्थित सिद्धिबासमा १, सल्लेरीमा ७ देखि ८ र घट्टेखोलामा ४ घर बगेका छन्। धार्चे ३ स्थित तातोपानीमा २, आरुघाट ३ र सोतीमा १ घर बगेका छन्।

प्राधिकरणको प्रतिवेदनअनुसार दुई खोला थुनिनु नै बाढी आएको हो। तर त्यबेला भूकम्प समेत मापन भएको थियो। ‘भूकम्पीय शक्ति मापन भएको हो। तर भूकम्प होइन,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारी भन्छन्,’तरंग वा शक्ति मापन भएपछि भूकम्प मापन यन्त्रमा रेकर्ड भएको हो,’ उनी भन्छन्,’पहिरो गएपछि तरंग उत्पन्न भएको हुन सक्छ, त्यो शक्ति रेकर्ड भयो।’

दुई महिनामा तीन ठूला बाढी : गण्डकी जलाधारमा किन दोहोरिन्छ विपद्?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast