शिक्षक सरुवा विज्ञापनमा कडाइ

हिमाल प्रेस ३ साउन २०८३ १६:०९ | Sunday, July 19, 2026
170
SHARES
शिक्षक सरुवा विज्ञापनमा कडाइ

सिरहा- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ सिरहाले सामुदायिक विद्यालयहरूलाई शिक्षक सरुवासम्बन्धी विज्ञापन गर्दा शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ मा उल्लेखित व्यवस्था अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।

एकाइले शुक्रबार जारी गरेको परिपत्रमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा कार्यरत शिक्षकको सरुवा, अनिवार्य अवकाश, मृत्यु, लामो बिदा वा अन्य कारणबाट पद रिक्त भएमा विद्यालयले सो विवरण शिक्षा विकास तथा समन्वय एकाइमा पठाइ एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने उल्लेख गरिएको छ। पद रिक्त भएको सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई समेत लिखित जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ।

परिपत्रमा शिक्षा नियमावली, २०८३ (संशोधनसहित) अनुसार प्राथमिक तहमा महिला शिक्षकको संख्या तोकिएकोभन्दा कम भएमा महिला शिक्षकबाट मात्र सरुवा आवेदन माग गर्नुपर्ने उल्लेख छ। यदि यस्तो प्रक्रियाबाट पनि पदपूर्ति हुन नसकेमा मात्र खुला प्रतिस्पर्धामार्फत विज्ञापन गर्न सकिने जनाइएको छ।

यस्तै, रिक्त पद खुला प्रतिस्पर्धा वा बढुवाबाट पूर्ति भइसकेको अवस्थामा सरुवा प्रक्रिया अघि नबढाउन तथा जुन तह वा श्रेणीको शिक्षकको पद रिक्त भएको हो, सोही वा तल्लो श्रेणीका शिक्षकलाई मात्र उम्मेदवार बनाउनुपर्ने व्यवस्था पनि परिपत्रमा स्मरण गराइएको छ।

एकाइले विद्यालयहरूलाई सरुवासम्बन्धी सूचना प्रकाशन गर्दा सम्बन्धित कानुनी व्यवस्था पालना गरी शिक्षा विकास तथा समन्वय एकाइसँग अनिवार्य समन्वय गर्न, विद्यालय व्यवस्थापन समितिको निर्णय संलग्न गर्न तथा सूचना विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको वेबसाइटमा समेत प्रकाशित गर्न निर्देशन दिएको छ।

एकाइका शाखा अधिकृत पुष्कर गिरी पिपलीद्वारा हस्ताक्षरित परिपत्रमा शिक्षक सरुवासम्बन्धी विस्तृत जानकारीका लागि शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ अध्ययन गर्न समेत विद्यालयहरूलाई आग्रह गरिएको छ।

प्रकाशित: ३ साउन २०८३ १६:०९ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast