शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल।
फाइल तस्बिर।
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब वृद्धिका विषयमा सरकार संवेदनशील रहे पनि मुलुकको आर्थिक अवस्थाका कारण तत्काल अपेक्षाअनुसार निर्णय गर्न कठिन रहेको बताएका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालय शिक्षाका समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले ईसीडी शिक्षक, लेखापाल तथा विद्यालय सहयोगीका लागि उपलब्ध गराइने अनुदान वृद्धि गर्न अर्थ मन्त्रालयसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए।
उनले अर्थमन्त्रीले स्वर्णिम वाग्ले यस विषयमा सकारात्मक धारणा व्यक्त गरेको जानकारी दिँदै सरकारको आर्थिक क्षमताले साथ दिएसम्म आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
शिक्षामन्त्री पोखरेलले भने,‘अनुदानमार्फत सामुदायिक विद्यालयका बालविकास सहजकर्ता (ईसीडी शिक्षक), लेखापाल र विद्यालय सहयोगीलाई जुन अनुदान पठाउँछौं, त्यसको बारेमा पनि हामी अर्थ मन्त्रालयसँग विभिन्न चरणमा वार्ता गरेका छौं। अर्थमन्त्रीले ‘म सकारात्मक छु’ भन्नुभएको छ। देशको आर्थिक अवस्था राम्रो छैन। अहिलेको अवस्थामा विद्यालयलाई सुधार गर्नका लागि ईसीडी शिक्षक, विद्यालय कर्मचारीलाई जुन किसिमले सकेको जति गर्न सकिन्छ, त्यो गर्छौं। जति हामीलाई डेलिगेशन आउँछ, त्योभन्दा बढी संवेदनशील छौं। क्षमताले नभ्याएको कुरा कसरी गर्ने र! जति भ्याउन सकिन्छ, त्यसमा हामी संवेदनशील छौं।’
ईसीडी शिक्षक र विद्यालय कर्मचारीले लामो समयदेखि तलब तथा सेवासुविधा वृद्धि, स्थायी व्यवस्थापनलगायतका माग राख्दै आएका बेला शिक्षामन्त्रीको यो अभिव्यक्ति आएको हो।


