काठमाडौँ- नेपालका निजी शैक्षिक संस्थाहरूको औसत वार्षिक सञ्चालन खर्च १ करोड २२ लाख रुपैयाँ पुगेको एक सरकारी अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपाल शिक्षा संस्था सर्वेक्षण २०८३/८४ का अनुसार प्रदेश तथा शैक्षिक तहअनुसार सञ्चालन खर्चमा उल्लेखनीय भिन्नता देखिएको छ। अध्ययनले बागमती प्रदेशका शैक्षिक संस्थाको वार्षिक सञ्चालन खर्च सबैभन्दा बढी र कर्णाली प्रदेशका संस्थाको सबैभन्दा कम रहेको जनाएको छ।
अध्ययनअनुसार बागमती प्रदेशका निजी शैक्षिक संस्थाको औसत वार्षिक सञ्चालन खर्च २ करोड १२ लाख रुपैयाँ रहेको छ। त्यसपछि गण्डकी प्रदेशमा १ करोड ३० लाख रुपैयाँ र लुम्बिनी प्रदेशमा १ करोड ४ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ।
कोशी प्रदेशमा औसत वार्षिक खर्च ८९ लाख रुपैयाँ रहेको छ भने मधेश प्रदेशमा ७० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा ६३ लाख रुपैयाँ रहेको छ। कर्णाली प्रदेशमा भने औसत वार्षिक सञ्चालन खर्च सबैभन्दा कम ५४ लाख रुपैयाँ रहेको अध्ययनले देखाएको छ।
शैक्षिक तहका आधारमा हेर्दा उच्च शिक्षाका संस्थाहरूको वार्षिक खर्च सबैभन्दा बढी करिब २ करोड रुपैयाँ रहेको छ। त्यसपछि माध्यमिक तह (कक्षा १२ सम्म) का संस्थाको औसत वार्षिक खर्च १ करोड ८८ लाख रुपैयाँ रहेको छ।
त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षण संस्थाहरूले वार्षिक औसत १ करोड १७ लाख रुपैयाँ खर्च गर्ने गरेका छन्। पूर्वप्राथमिक तथा प्राथमिक विद्यालयहरूको खर्च भने सबैभन्दा कम, करिब ३८ लाख ८० हजार रुपैयाँ रहेको छ।
अध्ययनले गैरसरकारी शैक्षिक संस्थाहरूले देशभर औसत मासिक ३ हजार ३ सय रुपैयाँ शुल्क लिने गरेको पनि देखाएको छ। बागमती प्रदेशमा औसत मासिक शुल्क सबैभन्दा बढी ५ हजार १ सय रुपैयाँ रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम करिब २ हजार रुपैयाँ रहेको छ।
प्रतिवेदनअनुसार पूर्वप्राथमिक र आधारभूत तहमा शुल्क तुलनात्मक रूपमा कम हुने गरेको छ भने माध्यमिक र उच्च माध्यमिक तहतर्फ जाँदा शुल्क क्रमशः बढ्दै जाने गरेको छ। उच्च शिक्षा तथा प्राविधिक व्यावसायिक शिक्षण संस्थाहरूले तुलनात्मक रूपमा बढी शुल्क लिने गरेका छन्।
निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीले मासिक औसत १६ हजार ३ सय रुपैयाँ तलब तथा भत्ता पाउने गरेका छन्। यसमा पनि बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ। बागमतीमा औसत मासिक पारिश्रमिक १९ हजार ६ सय रुपैयाँ छ। सुदूरपश्चिम प्रदेशमा भने यो रकम सबैभन्दा कम १३ हजार ४ सय रुपैयाँ रहेको छ।
शैक्षिक तहअनुसार उच्च शिक्षाका संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीले सबैभन्दा बढी औसत मासिक २१ हजार ६ सय रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। विपरीत रूपमा पूर्वप्राथमिक तथा प्राथमिक विद्यालयका शिक्षक तथा कर्मचारीको मासिक औसत तलबभत्ता ११ हजार ९ सय रुपैयाँ मात्र रहेको अध्ययनले देखाएको छ।
तुलनात्मक रूपमा सरकारी विद्यालयका शिक्षकहरूको मासिक तलब २८ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँसम्म रहेको छ।




