काठमाडौँ- वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्रछात्रालाई जनही रु १० हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेकी हुन्।
विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने नौ जना विद्यार्थीमध्ये चार जनाले यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ।
राहत पाउनेमा निकुञ्ज आसपासका पौपाण्डव, बघौडा, रैवा, बूढीराप्ती, मेघौली, केरुङ्गा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति तथा मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति क्षेत्रका विपन्न एवं प्रभावित परिवारका बालबालिका छन्।
स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो।
छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट पीडित बनेका र अधिकांश आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाको शिक्षामा आर्थिक सहायताले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेको पीडाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न तथा प्रभावितलाई उचित राहत एवं क्षतिपूर्ति दिलाउन सरकार निरन्तर प्रयासरत रहेको बताइन्।




