काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले शिक्षा क्षेत्रमा थप समस्या सिर्जना गरेको बताएका छन्।
राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयका पदाधिकारी तत्काल नियुक्त गरी देखिएका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।
रिजालले विश्वविद्यालयको व्यवस्थापन कमजोर हुँदा विद्यार्थीहरू अझै पनि उच्च शिक्षाका लागि विदेश जान बाध्य भइरहेको भन्दै यस्तो अवस्थामा पदाधिकारी नियुक्ति प्रक्रिया छिटो र प्रभावकारी हुनुपर्नेमा जोड दिए।
उनले सरकारको कामप्रति आफूहरूको अपेक्षा शिक्षा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने रहेको पनि उल्लेख गरे।
त्यसैगरी, नेकपा (एमाले) की सांसद सम्झना देवकोटा ले स्वदेशमै उच्च शिक्षाको गुणस्तरीय वातावरण निर्माण गर्न सरकारसँग माग गरेकी छन्।
समितिको बैठकमा बोल्दै उनले नेपालमा अध्ययनका लागि उपयुक्त वातावरण रहेकाले विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने खालका कार्यक्रम आवश्यक रहेको बताइन्।
उनले उच्च शिक्षा क्षेत्रमा नीति तथा कार्यक्रममार्फत स्पष्ट योजना ल्याउन शिक्षा मन्त्रालयलाई आग्रह गरिन्।




