शिक्षकमाथि दुर्व्यवहार र आक्रमणको घटनाप्रति नेपाल शिक्षक महासंघको आपत्ति

हिमाल प्रेस १२ जेठ २०८३ १२:१० | Tuesday, May 26, 2026
14
SHARES
शिक्षकमाथि दुर्व्यवहार र आक्रमणको घटनाप्रति नेपाल शिक्षक महासंघको आपत्ति

भक्तपुर- नेपाल शिक्षक महासंघले तेह्रथुम र रौतहटमा शिक्षकमाथि भएको दुर्व्यवहार तथा भौतिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा सिंहबाहिनी माध्यमिक विद्यालय, म्याङ्लुङ–२, तेह्रथुमका शिक्षक तथा नेपाल शिक्षक संघ संघीय समिति सदस्य चेतनप्रसाद सुवेदीमाथि जेठ १० गते म्याङ्लुङ नगरपालिकाका नगर प्रमुखबाट दुर्वाच्य प्रयोग, दुर्व्यवहार तथा निजकै निर्देशनमा भौतिक आक्रमण भएको आरोप लगाइएको छ।

त्यसैगरी, रौतहटस्थित शंकर माध्यमिक विद्यालयका शिक्षक रामबाबु यादवमाथि बौधीमाई नगरपालिकाका नगर प्रमुख, वडा नं. ८ का अध्यक्ष लगायतबाट दुर्व्यवहार तथा भौतिक आक्रमण भएको घटनाप्रति पनि महासंघले आपत्ति जनाएको छ।

विज्ञप्तिमा जनताको सेवा गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधिबाट देशका विभिन्न स्थानमा भएका यस्ता अशोभनीय व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारसँग माग गरिएको छ।

महासंघले तेह्रथुमको म्याङ्लुङ नगरपालिकाअन्तर्गत कार्यरत शिक्षक चेतनप्रसाद सुवेदी, सुवास कार्की, सरला भण्डारीलगायतमाथि गरिएको भनिएको आग्रहयुक्त तथा अन्यायपूर्ण सरुवा तत्काल फिर्ता गर्न पनि माग गरेको छ।

स्थानीय तहका निर्वाचित पदाधिकारीबाट पटकपटक हुने गरेका अमर्यादित तथा प्रतिशोधपूर्ण गतिविधिले विद्यालय तहको शिक्षालाई संविधानको अनुसूची-८ अन्तर्गत स्थानीय तहको एकल अधिकार सूचीमा राख्ने व्यवस्था त्रुटिपूर्ण रहेको पुनः पुष्टि भएको दाबी गरिएको छ।

महासंघले संविधान संशोधनका क्रममा विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीबाट हटाई साझा अधिकार सूची (अनुसूची–९) मा समावेश गर्न राजनीतिक दल, सांसद तथा सरकारसमक्ष आग्रह गरेको छ।

प्रकाशित: १२ जेठ २०८३ १२:१० | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast