काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर गरेको छ।
दमक नगरपालिका-२ मा रहेको विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले आर्थिक वर्ष २०७७/७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेका हुन्।
अनुसन्धानबाट विद्यालय भवन निर्माणमा ठूला अनियमितता भएको खुलेको छ। नमुना विद्यालय भवन निर्माणका क्रममा गरिएको मूल्यांकनअनुसार पहिलो तला निर्माणमा जम्मा १ करोड ४८ लाख ५३ हजार रुपैयाँ खर्च देखिए पनि विद्यालयले २ करोड ७ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
यसरी झुट्टा बिल तथा कागजात तयार गरी ५९ लाख २६ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
त्यसैगरी, नगद हिनामिना र व्यक्तिगत प्रयोगसमेत गरी कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बराबरको सरकारी रकम दुरुपयोग गरिएको निष्कर्ष निकालिएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको भन्दै आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। आरोपितहरूसँग बिगो असुली, जरिवाना र कैद सजाय माग गरिएको छ।





