काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) सकेर बसेका विद्यार्थीलाई फुर्सदको समय सिर्जनात्मक रूपमा उपयोग गर्न आग्रह गरेका छन्। मन्त्री पोखरेलले आज भिडियो सन्देशमार्फत यस्तो आग्रह गरेका हुन्।
उनले भने,‘एसईई दिनुभएको सम्पूर्ण विद्यार्थीहरूलाई बधाई छ। परीक्षा सम्पन्न भएको छ र अब केही दिनका लागि तपाईंहरू फ्री हुनुभएको छ। यो समयलाई सदुपयोग गर्दै विभिन्न खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा लाग्नुहोस्।’
उनले विद्यार्थीलाई आफ्नो रुचिअनुसार खेलकुद तथा संगीततर्फ लाग्न सुझाव दिए। ‘कसैलाई क्रिकेट, कसैलाई फुटबल, भलिबल वा एथलेटिक्स मन पर्न सक्छ, त्यही क्षेत्रमा जानुहोस्। म्युजिकमा रुचि भए गिटार, मादल बजाउन वा गीत गाउन सिक्नुहोस्,’ उनले भने।
मन्त्री पोखरेलले मन्त्रालयले ‘इन्सपायर सिरिज’ सुरु गरेको जानकारी दिँदै यसले विद्यार्थीलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।
‘आजबाट हामीले ‘इन्सपायर सिरिज’ सुरु गरेका छौं, जसमा विभिन्न क्षेत्रका विज्ञ तथा सेलिब्रिटीहरूले आफ्नो अनुभव सेयर गर्नुभएको छ। ती भिडियोहरू हेरेर तपाईंहरूले आफू कुन क्षेत्रमा जाने भन्नेबारे प्रेरणा पाउनुहुनेछ,’ उनले भने।
उनले पुनः विद्यार्थीलाई बधाई दिँदै नयाँ यात्राको सुरुवात गर्न आग्रह गरे। ‘फेरि पनि सबैलाई एसईई दिनुभएकोमा हार्दिक बधाई छ, अब नयाँ बाटो आजबाट सुरु गर्नुहोस्,’ उनले भने।
गत चैत १९ गतेदेखि सुरु भएको एसईई परीक्षा चैत २६ गते सम्पन्न भएको थियो। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षा दिएका थिए।
सरकारको निर्देशन अनुसार राष्ट्रिय परीक्षा बोर्डले यही वैशाखभित्रै परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ।



