पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, गाउँपालिकाले दियो शोक बिदा

हिमाल प्रेस २ फागुन २०८० ११:३७
36
SHARES
पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, गाउँपालिकाले दियो शोक बिदा

पोखरा- पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा थप २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार उपचारका क्रममा पाल्पाको तिनाउ गाउँपालिका २, खुर्सानेकी २० वर्षीया गीता सुनार र पाल्पाको रिब्दीकोट गाउँपालिका १, ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको हो ।

दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा ६ की ६० वर्षीया ऐनकुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, वर्ष ६७ का कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामीको मृत्यु भएको छ । उर्मिला तिनाउ ६ की पूर्व सदस्य समेत हुन् ।

यस्तै, बुटवल १४, तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल, उनकी ६० वर्षीया श्रीमती चूना रणपाल, ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देहीको देवदह नगरपालिका ५ की २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप तिनाउ गाउँपालिका–६ मस्याममा मंगलबार साँझ दुर्घटना भएको थियो ।

घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेका हुन् । क्षमताभन्दा बढी यात्रु बोकेको जिप कच्ची बाटो तथा घुम्ती र उकालोका कारण करिब ३ सय मिटर तल तल्लो सडकमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । घाइते हुनेमा पाल्पा तिनाउका २० वर्षीय कृष्ण पन्थ, सोही ठाउँकी १९ वर्षीया उमा रासकोटी, १९ वर्षीया शान्ति राना, ९ वर्षीय सौरव पुन, २१ वर्षीया अमृता गहतराज, २८ वर्षीया कमला सुनार, दुर्घटनामै ज्यान गुमाएकी गीता सुनारकी ३६ दिनकी छोरी स्वस्तिका, ४५ वर्षीय तुलबहादुर नेपाली छन् ।

यस्तै, घाइतेहरु पाल्पा रिब्दीकोट ख्याहाकी ६ वर्षीया विद्या सुनार, सोही ठाउँकी ३० वर्षीया रमा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आलव सुनार, तानसेन तीन्टीआँपकी ४२ वर्षीया सविता परियार, रुपन्देही देवदहका ९ वर्षीय विवेक जिसी र ६ वर्षीय अस्मित जिसी र रुपन्देहीको कञ्चन गाउँपालिका हरैयाकी ३० वर्षीया भूमि पुन उपचार भइरहेको छ ।

जिप चालक तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

तिनाउमा शोक बिदा

तिनाउ गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ। बुधबार बसेको गाउँकार्यपालकाको ४६ औं बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिका क्षेत्रभित्रका शिक्षा, स्वास्थ्य, सरकारी संघसंस्था तथा सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए।

यस्तै, तिनाउका मृतकका परिवारलाई ३५ हजार दिने तथा घाइतेको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि निर्णय गरेको छ।

प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतका अनुसार जिप दुर्घटनामा तिनाउका ५ जनाको मृत्यु भएको छ । तीमध्ये वडा ६, मस्यामकी पूर्व वडा सदस्य उर्मिला अस्लामीको पनि मृत्यु भएको छ ।

प्रकाशित: २ फागुन २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =