लोहनी परिवारका ६ जना दुर्घटनामा परेपछि रजहर शोकमा

विजय नेपाल ६ कार्तिक २०८० १२:४५
70
SHARES
लोहनी परिवारका ६ जना दुर्घटनामा परेपछि रजहर शोकमा दुर्घटनाग्रस्त जिप।

पाल्पा– गाडी दुर्घटनामा लोहनी परिवारका ६ सदस्य गुमेपछि नवलपुरको देवचुली वडा १६, रजहर कुमारबस्ती यतिबेला शोकमा छ। कहालीलाग्दो दुर्घटनाका कारण उक्त गाउँमा दसैँको उल्लास हराएको छ।

पाल्पाको पर्यटकीय स्थल रानीमहल घुमेर फर्किने क्रममा आइतबार अपराह्न ५ बजे तानसेन नगरपालिका वडा १३ बैकुण्ठेभिरमा लोहनी परिवारका ७ जना सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्करपियो दुर्घटनामा परेको हो।

बैकुण्ठेभिरबाट करिब १ सय मिटर तल बराङदी खोलामा गाडी खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालक ईश्वरबहादुर लोहनी घाइते छन्। ३६ वर्षीय ईश्वरबहादुरले दुर्घटनामा आमा, बुवा, श्रीमती, २ छोरा र सासूलाई क्षणभरमै गुमाएका हुन्। दुर्घटनामा अचेत उनको पाल्पा सदरमुकाम युनाइटेड मिसन अस्पतालमा उपचारपछि थप उपचारार्थ हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ।

दुर्घटनाको खबरपछि देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको टिम मिसन अस्पताल पुगेको थियो। हिमालप्रेससँग कुराकानीमा मेयर न्यौपानेले भने, ‘दुर्घटनाको खबरले नगरवासी स्तब्ध छौँ। दसैँको मुखमा यस्तो हृदयविदारक घटना भयो। शोकलाई शक्तिमा बदल्न सकौँ।’

उनका अनुसार घाइते ईश्वरबहादुरलाई सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल पठाइएको छ। उनको हातखुट्टामा गम्भीर चोट लागेको छ। मृतकको शव भने देवचुली पठाउने तयारी छ।

लोहनी परिवार लमजुङबाट बसाइँ सरेर तराई झरेको थियो। ईश्वरका बाबु ६५ वर्षीय कृष्णबहादुर वैदेशिक रोजगारबाट फर्केपछि रजहरमा कुटानीपिसानी मिल चलाउँदै आएका थिए। ईश्वरबहादुर स्थानीय बर्चुली माविमा पढाउँछन्।

बडादसैँको सप्तमीमा फूलपाती भित्र्याएर लोहनी परिवार घुम्नका लागि रानीमहल गएको थियो। घुमेर फर्किने क्रममा रानीमहलभन्दा १ किमि वर भिरबाट गाडी खोलामा खसेको हो। ईश्वरबहादुरले दुर्घटनामा ५५ वर्षीया आमा पार्वती लोहनी, ६५ वर्षीय बाबु कृष्णबहादुर लोहनी, ३५ वर्षीया श्रीमती सविना धिताल, छोराहरु ११ वर्षीय सविस र साढे २ वर्षे ईशव र सासू ५५ वर्षीया चुना धिताललाई गुमाएका हुन्।

रजहर बसाइँ सरेपछि लोहनी परिवार सामाजिक कार्यमा पनि सक्रिय भएकोले सबैको प्यारा थिए। दुर्घटनाको खबरले सबैलाई स्तब्ध बनाएको रजहर वडा १६ का वडाध्यक्ष केशवप्रसाद गौतमले बताए।

प्रकाशित: ६ कार्तिक २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =