भोटेकोशी बाढीपछिको राजमार्गको अवस्था : हेर्नुस् कुनकुन अवरुद्ध छन्?

हिमाल प्रेस ११ भदौ २०८३ ८:३३ | Thursday, August 27, 2026
भोटेकोशी बाढीपछिको राजमार्गको अवस्था : हेर्नुस् कुनकुन अवरुद्ध छन्?

काठमाडौँ- बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यका जोड्ने प्रमुख सडकका साथै कोशी र बागमती प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।

काठमाडौँ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिने नागढुंगा-मुग्लिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। भाद्र १० गते बिहान १०:०० बजेदेखि नै यो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो।

बागमती प्रदेशमा धेरैजसो राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा साँझ १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थितिको विचार गरेर मात्र सवारी चल्न दिइनेछ।

कान्ति लोकपथकाे  हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा रातको समयमा (साँझ १७:०० देखि बिहान ०५:०० सम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्डको उत्तरगया-५, खाल्टेमा आएको बाढीका कारण यो बाटो लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ।

नुवाकोट जाने टोखा-छहरे सडक खण्डमा रातको समयमासवारी चलाउन रोक लगाइएको छ। साथै, जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, झापादेखि ताप्लेजुङ जाने यात्रुहरूका लागि वैकल्पिक बाटो उपलब्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे नजिकको प्रहरी कार्यालयमा जानकारी लिन र जोखिमपूर्ण मौसममा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ११ भदौ २०८३ ८:३३ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast