रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

हिमाल प्रेस ३१ असोज २०८३ १८:३१ | Saturday, October 17, 2026
6
SHARES
रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप बढ्नसक्ने चिन्ता उत्पन्न गरेको छ।

जेलेन्स्कीले ट्रम्पको प्रतिबन्ध रोक्ने कदमलाई ‘दुर्भाग्यपूर्ण’ बताएका छन्। यद्यपि, पछिल्ला दिनमा युक्रेन र वासिङ्टनबीच तनाव बढ्दै गए पनि उनले अमेरिकी राष्ट्रपतिको प्रत्यक्ष आलोचना भने गरेका छैनन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्भाग्यबस, अमेरिकामा ‘लिन्ड्से ग्राहम ऐन’लाई पूर्ण रूपमा बेवास्ता गर्ने निर्णय गरिएको छ। यस ऐनबाट रुसमाथि प्रभावकारी दबाब सिर्जना गरी युद्ध अन्त्य गर्न मद्दत पुग्ने अपेक्षा गरिएको थियो।’

उनले प्रस्तावित प्रतिबन्ध अझै कार्यान्वयन हुनसक्ने आशा व्यक्त गर्दै भनेका छन्, ‘यो ऐनले ठूलो मद्दत गर्न सक्थ्यो र अझै पनि गर्न सक्छ। तर यसको कार्यान्वयन आवश्यक छ। यसलाई समर्थन गर्दै उठ्ने हरेक आवाज महत्वपूर्ण छ।’

युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण भएको किभको दाबी

जेलेन्स्कीले शनिबार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरेको पनि बताएका छन्। उनका अनुसार, देशभरका १५ भन्दाबढी स्थानमा आक्रमण गरिएको थियो।

उनले भने, ‘रुसले विशेषगरी हाम्रो ऊर्जा क्षेत्रलाई लक्षित गर्दै व्यापक र निरन्तर आक्रमण गरिरहेको छ। यसले दुर्भाग्यबस गम्भीर परिणाम निम्त्याइरहेको छ।’

युक्रेनी वायुसेनाका अनुसार, रुसी सेनाले रातभर चार वटा क्रुज मिसाइल र ३३२ वटा आक्रमणकारी ड्रोन प्रहार गरेको थियो। तीमध्ये चारवटै मिसाइल र २८९ वटा ड्रोनलाई निष्क्रिय पारिएको वा खसालिएको वायुसेनाले जनाएको छ।

जाडो मौसम सुरु हुनुअघि युक्रेनको विद्युत् प्रणालीमाथि रुसी आक्रमण तीव्र हुनु युद्धको नियमित प्रवृत्तिजस्तै बनेको छ।

यस्ता आक्रमणले सर्वसाधारणलाई ताप, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित गराउँदै युक्रेनको प्रतिरोध क्षमतामा असर पार्ने उद्देश्य राखेको युक्रेनी पक्षको भनाइ छ।

युक्रेनी अधिकारीले आगामी महिनामा थप आक्रमण गर्न रुसले ब्यालिस्टिक मिसाइलहरू भण्डारण गरिरहेको चेतावनीसमेत दिएका छन्।

जाडो नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित आक्रमण र अमेरिकी प्रतिबन्धसम्बन्धी निर्णयले युक्रेनको सुरक्षा अवस्थाबारे चिन्ता थपिएको छ।-रासस/एपी

प्रकाशित: ३१ असोज २०८३ १८:३१ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast