काठमाडौँ- केही वर्षअघिसम्म घट्दो विद्यार्थी संख्या, अनियमित हाजिरी र अभिभावकको कमजोर सहभागितासँग जुधिरहेको काठमाडौँको रानीदेवी माध्यमिक विद्यालय अहिले सामुदायिक शिक्षाको आकर्षण केन्द्र बन्दै गएको छ। विद्यालयका प्रधानाध्यापक छन् नारायणप्रसाद गौतम।
यो परिवर्तन ठूलो पूर्वाधार वा पर्याप्त बजेटका कारण मात्र सम्भव भएको होइन। इमान्दार नेतृत्व, शिक्षकबीचको टिमवर्क र अभिभावकसँगको निरन्तर संवादले विद्यालयको अवस्था बदलिएको हो।
२०८१ सालमा शिक्षकका रूपमा विद्यालय प्रवेश गरेका गौतम अहिले प्रधानाध्यापकको जिम्मेवारीमा छन्। उनी विद्यालयमा आउँदा विद्यार्थी संख्या २४५ मात्रै थियो। त्यसमध्ये पनि धेरै विद्यार्थी नियमित विद्यालय नआउने अवस्था थियो।
विद्यार्थी किन अनुपस्थित भइरहेका छन् भन्ने कारण पहिचान गर्न विद्यालयले अभिभावकसँग छलफल गर्नुका साथै घरदैलो अभियान सञ्चालन गर्यो।
विद्यालयमा बोलाउँदा नआएका अभिभावकका घरमै पुगेर विद्यार्थीको अवस्था बुझ्ने र विद्यालयको योजनाबारे जानकारी गराउने काम भयो।
पहिलो चरणमा करिब ४० प्रतिशत अभिभावक मात्रै सहभागी भए पनि त्यस अभियानले विद्यालय र समुदायबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्यो।
विद्यालयले शैक्षिक सत्र २०८२ देखि अभिभावकको मागअनुसार अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न थाल्यो। त्यससँगै कम्प्युटर शिक्षा पनि सुरु गरियो।
यी प्रयासले विद्यालयप्रति अभिभावकको आकर्षण बढायो। परिणामस्वरूप एकै वर्षमा ४८० नयाँ विद्यार्थी भर्ना भए। अहिले विद्यालयमा करिब ६५० बढी विद्यार्थी अध्ययनरत छन्।
गौतमका अनुसार विद्यालयको उद्देश्य विद्यार्थी संख्या बढाउनु मात्र नभई गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्नु हो। त्यसैले पठनपाठनसँगै विद्यार्थीको अनुशासन, व्यवहार र संस्कारलाई पनि प्राथमिकतामा राखिएको छ।
अभिभावक भेलामा बालबालिकालाई घरमै संस्कार, सभ्यता र राम्रो व्यवहार सिकाउन आग्रह गर्ने गरिएको छ। विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल लर्निङ, कम्प्युटर शिक्षा, स्काउट, योग, ध्यान तथा नृत्यनाटकजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन भइरहेका छन्। ‘अनुशासित विद्यार्थीको शैक्षिक उपलब्धि पनि राम्रो हुन्छ भन्ने अनुभव हामीले गरेका छौं,’ गौतमले भने।
विद्यालयले काठमाडौँ महानगरपालिकाको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ। पढाइसँगै विद्यार्थीलाई व्यवहारिक र सीपमूलक ज्ञान दिने उद्देश्यले हाउस वायरिङ तथा इलेक्ट्रिकल तालिमसमेत सञ्चालन गरिएको छ।
तालिमपछि विद्यार्थीले आफ्नै घरमा देखिने सामान्य विद्युतीय समस्या पहिचान र समाधान गर्न सक्ने भएका छन्। यसले विद्यार्थीको आत्मविश्वाससँगै स्वावलम्बन बढाउन सहयोग पुगेको विद्यालयको भनाइ छ।
शैक्षिक उपलब्धितर्फ पनि विद्यालयले सुधारको संकेत देखाएको छ। गत वर्ष २२ विद्यार्थी एसईईमा सहभागी भएकामा १५ जना पहिलो प्रयासमै उत्तीर्ण भए भने बाँकी विद्यार्थी पनि पुनः परीक्षामा सफल भएका थिए।
यस वर्ष ३२ विद्यार्थी एसईईमा सहभागी हुने तयारीमा छन्। विद्यालयले मानविकी, व्यवस्थापन र समाजशास्त्र विषयमा कक्षा ११ समेत सञ्चालन गरिसकेको छ।
काठमाडौँ महानगरपालिकाले विज्ञान, गणित र सामाजिक विषयका लागि थप शिक्षक उपलब्ध गराएपछि पठनपाठन थप व्यवस्थित भएको विद्यालयले जनाएको छ।
विद्यालयको अनुभवले सामुदायिक विद्यालय सुधारका लागि भौतिक पूर्वाधार र बजेटसँगै नेतृत्वको इमान्दारिता, शिक्षकको प्रतिबद्धता र अभिभावकको सहभागिता उत्तिकै आवश्यक रहेको देखाएको छ।
प्रधानाध्यापक गौतम विद्यालयको सुधार एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने बताउँछन्। विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, शिक्षक र अभिभावक एउटै उद्देश्यमा प्रतिबद्ध भएर अघि बढे छोटो समयमै उल्लेख्य परिवर्तन ल्याउन सकिने उनको अनुभव छ।
‘प्रधानाध्यापक इमान्दार, शिक्षक प्रतिबद्ध र अभिभावक सहभागी भए सामुदायिक विद्यालय पनि उत्कृष्ट बन्न सक्छ,’ गौतमले भने,‘असल नेतृत्वले विद्यालयको वातावरण मात्रै होइन समुदायको विश्वास पनि बदल्न सक्छ।’


