दशौँ राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रधानमन्त्री सहभागी हुनुहुन्छ : खेलकुदमन्त्री पोखरेल

हिमाल प्रेस १३ मंसिर २०८३ १७:१६ | Sunday, November 29, 2026
2
SHARE
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रधानमन्त्री सहभागी हुनुहुन्छ : खेलकुदमन्त्री पोखरेल

सुर्खेत- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह १६ गते हुने उद्घाटन समारोहमा सहभागी हुने बताउँदै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सबै भुगोलको उत्सव बनाउन लागिपर्न पनि अनुरोध गरे।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ लक्षित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय खेलकुदलाई काठमाडौँमा मात्र सीमित नराखी विभिन्न प्रदेश र जिल्लासम्म विस्तार गर्नु सकारात्मक भएको बताए।

कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना हुनु समग्र कर्णालीवासीका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले प्रतियोगितालाई सुर्खेतमा मात्र सीमित राख्ने दृष्टिकोणबाट हेर्न नहुने बताए।

‘पहिला सबै कुरा काठमाडौँमा मात्र केन्द्रित हुन्थ्यो। अहिले काठमाडौँभन्दा बाहिर आएर विभिन्न प्रदेशमा राष्ट्रिय खेलकुद हुन थालेको छ। कर्णालीमा राष्ट्रिय खेलकुद हुनु नेपाली जनताकै लागि खुसीको खबर हो,’ उनले भने।

त्यस्तै, सुर्खेतलाई छाडेर जुम्लामा फुटबल खेल किन लगियो भन्ने प्रश्नमा जवाफ दिँदै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको विकेन्द्रीकरणलाई फराकिलो दृष्टिकोणबाट बुझ्नुपर्ने धारणा राखे।

‘कर्णाली भनेको सुर्खेत मात्रै होइन नि। सुर्खेत महत्त्वपूर्ण ठाउँ हो, तर सुर्खेतभन्दा बाहिर खेल लैजान नहुने हो र? जुम्लाका नागरिक पनि आफ्नो ठाउँमा खेल आयोजना हुँदा खुसी हुनुहुन्छ,’ उनले भने, ‘अनि महिला फुटबल त सुर्खेतमै हुँदै छ नि। के तपाईंहरुको लागि महिला फुटबल चाहिँ फुटबल नै होइन त रु हामीले यसरी संकुचित भएर सोच्नुहुँदैन।’

काठमाडौँमा मात्र केन्द्रित राष्ट्रिय खेलकुदलाई कर्णालीसम्म विस्तार गर्दा कर्णालीवासी खुसी भएजस्तै सुर्खेतबाहिरका जिल्लामा प्रतियोगिता आयोजना हुँदा त्यहाँका नागरिक पनि उत्साहित हुने उनको भनाइ थियो।

प्रकाशित: १३ मंसिर २०८३ १७:१६ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast