चितवन- शिक्षक तथा कर्मचारीमाथि भइरहेको श्रम शोषण, न्यून पारिश्रमिक र सेवा सुविधाको बेवास्ता भएको भन्दै चितवनका संस्थागत विद्यालयमा पठनपाठन बन्द हुने भएको छ।
संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को आह्वानमा मंसिर १४ गतेदेखि जिल्लाका संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न लागिएको हो।
आन्दोलन कुनै व्यक्ति विशेषको प्रभाव वा बहकावमा नभई शिक्षक तथा कर्मचारीले लामो समयदेखि भोग्दै आएका साझा समस्याको समाधानका लागि सुरु गरिएको सम्बन्धित पक्षको भनाइ छ।
शिक्षक तथा कर्मचारीको पाँच वर्षदेखि तलब वृद्धि नगरिएको, बिदाका दिनसमेत जबर्जस्ती विद्यालय बोलाउने गरिएको, अतिरिक्त कामको पारिश्रमिक नदिइएको तथा चाडपर्व खर्च उपलब्ध नगराइएको विषयलाई आन्दोलनको मुख्य कारणका रूपमा अघि सारिएको छ।
नियुक्तिपत्र तथा सामाजिक सुरक्षाको सुनिश्चितता नगरिएको र शिक्षकहरूको ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप भएको भन्दै सम्बन्धित पक्षले असन्तुष्टि व्यक्त गरेको छ।
यी समस्या चितवनमा मात्र सीमित नभई देशभरका संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीले भोगिरहेको साझा समस्या भएकाले आन्दोलन अन्य जिल्लामा समेत विस्तार हुन सक्ने चेतावनी दिइएको छ।
आन्दोलनरत पक्षले निजी विद्यालयको लगानी र शैक्षिक योगदानको विरोध नगरेको स्पष्ट पार्दै विद्यालय सञ्चालक र शिक्षक-कर्मचारीबीच सहकार्य तथा सन्तुलन आवश्यक रहेको बताएको छ।
विद्यालयको विकासमा सञ्चालकको लगानीसँगै शिक्षक तथा कर्मचारीको श्रम, समर्पण र व्यावसायिक योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ।
केन्द्रीय प्याब्सनलाई ईस्टूसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सार्वजनिक अपिल गरिएको छ। नेपाल सरकार र शिक्षा मन्त्रालयलाई पनि वार्ताका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ।
शिक्षक तथा कर्मचारीको श्रम अधिकार र सेवा सुविधा सुनिश्चित नभएसम्म गुणस्तरीय शिक्षाको अपेक्षा पूरा हुन नसक्ने भन्दै संवादमार्फत समस्याको समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।



